Play

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारदेखि नियमितरूपमा रात्रिकालीन उडान सुरु हुने

गुरुकुल खबर


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भोलि (बिहीबार)देखि नियमितरूपमा रात्रिकालीन उडान सुरु हुने भएको छ ।

विमानस्थलमा उपकरणका आधारमा विमान उडान÷अवतरण प्रविधि इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली लागू भएपछि पहिलोपटक बुद्ध एयरले नियमित तालिकामा रात्रिकालीन उडान सुरु गर्न लागेको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यही फागुन ११ गतेदेखि आइएफआर प्रणाली लागू भएको हो । हाल विमानस्थलबाट बिहान ६ः०० बजेदेखि साँझ ४ः०० बजेसम्म मात्र जहाज उडान र अवतरण हुँदै आएकामा अब आवश्यकताका आधारमा रातिको १२ः०० बजेसम्म उडान गर्न सकिने बताइन्छ ।

बिहीबार साँझ पोखराका लागि काठमाडौँ, भैरहवा, नेपालगञ्ज र झापाको भद्रपुरबाट बुद्धका चारवटा जहाज रात्रिकालीन उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताउनुभयो । उहाँका अनुसार हालसम्म बुद्धबाहेकका अन्य कम्पनीले भने रात्रिकालीन उडानको तालिका पेस गरेका छैनन् ।

उहाँले भन्नुभयो, “पोखरा विमानस्थल रात्रिकालीन हवाई उडानका लागि योग्य भएपछि भोलिदेखि बुद्धले रातको समयमा समेत औपचारिक उडान सुरु गर्दैछ । बुद्धका चार विमानले देशका विभिन्न भागबाट पोखराका लागि उडान गर्नेछन् ।”

यसअघि यही फागुन १८ गते सौर्य एयरलाइन्स राति पोखरा विमानस्थलमा अवतरण भए पनि सो उडान नियमित तालिकाअनुसार थिएन । मौसमको खराबीका कारण तालिका ढिलाइ भएकाले राति अवतरण गरेको थियो ।

बुद्धका प्रवक्ता दीपेन्द्र कर्णले राति ८ बजेसम्म सेवा दिने गरी रात्रिकालीन उडानको तालिका बनाइएको बताउनुभयो । बुद्धका चारवटा जहाज राति पोखरामा नै रात्रि बिसान गर्नेछन् । कर्णका अनुसार बिहीबार काठमाडौँबाट पोखराका लागि बेलुकी ७ः३५ बजे, भद्रपुर–पोखरा साँझ ६ः५५ बजे, भैरहवादेखि पोखरा साँझ ७ः२५ बजे र नेपालगञ्जबाट पोखराका लागि साँझ ७ः२० बजे उडान हुनेछ ।

२४ फाल्गुन २०७९, बुधबार २२:४१ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा