Play

दूतावासका कर्मचारीले सेवाको नाममा चन्दा उठाएर खान थाले, अमेरिकाका प्रवासी नेपालीहरू आश्चर्यचकित

गुरुकुल खबर


अमेरिकास्थित नेपाली दूतावासले कन्सुलर सेवाको नाममा विभिन्न राज्यमा घुम्ती टोली खटाइ सेवाग्रहीसँग ‘स्वेच्छाले दान दिनुस्’ भन्दै चन्दाबाकस राखेर अवैधानिक तवरले डलर असुल्न थालेपछि सेवाग्राही नेपालीका साथै अमेरिकाका प्रवासी नेपालीहरू आश्चर्यचकित भएका छन् ।

कन्सुलर सेवाको लागि घुम्तीटोली भन्दै दूतावासबाट अमेरिकाका केही राज्यमा कर्मचारीको टोली खटाइएको छ, जसले नियमसङ्गत रूपमा सेवा उपलब्ध नगराइ ‘स्वेच्छिक चन्दा’ आह्वान गरेर भ्रष्टाचार गर्नुका साथै दूतावासलाई नै बदनाम तुल्याएको छ । दूतावासका कर्मचारीले सेवाको नाममा चन्दा उठाएर खान थालेपछि अमेरिका निवासी नेपालीहरूले असन्तुष्टि प्रकट गरेका छन् ।

भन्नका लागि त ‘कन्सुलर शिविर’ नेपालीहरूको कागजातजन्य समस्याहरूलाई सहजीकरण गर्ने अभियान भनिएको छ । तर, दूतावासको अपरिपक्व नेतृत्व, भ्रष्ट ब्युरोक्रेसी, अपारदर्शी स्थानीय सङ्घ-संस्थाका नेतृत्वकर्ताहरूको कार्यशैलीले उक्त पवित्र अभियानलाई नै विवादमा पारेका छन् ।

अमेरिका त्यस्तो देश हो जसको पूर्वी सीमादेखि पश्चिम सीमा पुग्न साढे ६ घण्टाको हवाइयात्रा गर्नुपर्छ । अन्यथा गाडीमार्फत् दूरी पार गर्न कम्तिमा १५–२० घण्टा लाग्छ । वासिङ्टन डिसी अर्थात् पूर्वी तटमा रहेको नेपाली दूतावासको सेवा अत्यन्त लापर्वाहीपूर्ण रहेको छ । फोन गर्दा नउठ्ने, ढिलासुस्ती अनि कर्मचारीको गैरजिम्मेवार जवाफबाट अमेरिकानिवासी हैरान छन् ।

पूर्वराजदूत शंकर शर्माको सुरुको कार्यकालसम्म दूतावासले अमेरिकी कानूनी मान्यता पाएको नोटरी प्रमाणीकरणलाई मान्यता दिएको थियो, तर उनकै कार्यकालमा किन हो मान्यता दिन छोड्यो र, राहदानी, पावर अफ् अटोर्नी, एनआरएन प्रमाणपत्रलगायत सबै कागजात/कामको लागि सशरीर उपस्थित हुन उर्दी जारी गरियो ।

सेवाग्राही नेपालीले समय र आर्थिक खर्च अधिक गर्नुपर्ने भयो । साथमा पुरानो राहदानी छ, नागरिकताको सक्कल प्रमाणपत्र छ, अब तोकिएको ढाँचाको आवेदन भरेर शुल्कबापत मनी अर्डरलगायत फिर्ता पाउन टिकट टाँसेको खामसमेत पठाएपछि पनि सशरीर उपस्थित किन हुनुपर्ने ? नेपाली दूतावाससमक्ष सेवाग्राहीको प्रश्न छ ।

यस्तै, अमेरिका जस्तो उच्च प्रविधि उपलब्ध भएको देशमा विद्युतीय सेवा किन उपलब्ध हुन सक्दैन ? अमेरिकी कानूनले मान्यता दिएको अधिकारीले गरिदिएको ‘नोटरी प्रमाणीकरण’लाई नेपालले मान्यता नदिनुको कारण के हो ? नेपाल सरकारले तोकेको ढाँचाको आवेदन आवश्यक कागजपत्र सक्कल वा नक्कल दुवै र लाग्ने शुल्क तिरेपछि सशरीर उपस्थित हुनुपर्ने किन ?

विद्युतीय प्रणालीलाई अवज्ञा गर्दै अमेरिकामा रहेका नेपालीहरूलाई राहदानी, पावर अफ अटोर्नीलगायतको काममा हक लाग्ने सबैलाई सशरीर उपस्थित हुन् उर्दी जारी गरेर समय र खर्चको बोझ बोकाउने किन ? सेवाको नाममा दूतावासका कर्मचारीले अमेरिकावासी नेपाली नागरिकसँग चन्दा उठाएर खानु घुसको अर्को स्वरूप होइन र ? यस्ता प्रश्न अमेरिकानिवासी नेपालीहरूले उठाएका छन् ।

यस्तोमा दूतावासको बदनियत र निकम्मापन छरप्रष्ट हुने सन्दर्भ बनेको छ ‘सेवा-सुविधाको नाममा घुम्तीटोली खटाएर स्वेच्छिक चन्दा असुल्न थालेको सन्दर्भ ! नागरिकको कामको लागि भनेर तलब-भत्ता खाने गरी खटाइएका सेवाप्रदायक कर्मचारीले सेवा दिएबापत भनेर सेवाग्राहीसँग बक्स राखेर स्वेच्छाले दिनोस् भन्दै चन्दा उठाएर लिनेजस्तो बदमासी कसको निर्देशनमा किन गरियो, आश्चर्यको विषय बनेको छ । यसको जिम्मेवार राजदूत कि घुम्तीटोलीमा खटिने कर्मचारी ? निक्र्योल हुनु जरुरी छ ।

सेवाको लागि घुम्तीटोली भन्दै राज्य-राज्य घुम्ने, सेवाग्रहीको खर्चमा खाने, उसैको गाडीमा भ्रमण गर्ने अनि होटेलखर्च तिराउने- यो कस्तो प्रशासनिक सोच हो ? चन्दा उठाएर बगलीमा हाल्ने अमेरिकी कानून र नेपाली कानूनको बर्खिलाप गएवापत राजदूतलगायत कर्मचारीले दण्ड भोग्नुपर्ने कि नपर्ने ?

आजको समयमा साधारण मानिसले समेत मोबाइल फोनबाट नै भुक्तानी लिन-दिन सक्छ, तर हाम्रो दूतावास त्यो गर्न इच्छुक छैन । अनि घुम्तीटोलीमार्फत दिएको सेवाबापत उठेको राजस्व रकम तत्काल बैंकमा जम्मा गर्नुको साटो बोकेर हिँड्ने जस्तो गैरजिम्मेवार काम गरिएको छ र, राष्ट्रको करोडौँ नोक्सानी भइरहेको छ, नेपाल सरकार भने कानमा तेल हालेर बसेको छ ।

घटना र बिचारबाट

२१ पुष २०७९, बिहीबार ०८:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा