पोखरा , जनप्रिय बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा पोखराका राजनीतिक एवं सामाजिक व्यक्तित्व विरेन्द्र नारायण विजुक्छे निर्वाचित भएका छन ।
पोखराको धेरै विधार्थी रहेको पव्लिक क्याम्पसको रुपमा स्थापित अनि गुणस्तरीय पढाई हुने क्याम्पसको रुपमा परिचित जनप्रिय बहुमुखी क्याम्पसको संचालक समितिको अध्यक्ष बन्नुलाई पोखराको शैक्षिक क्षेत्रमा प्रतिष्ठाको रुपमा हेर्ने गरिएको छ ।
यस पटक अध्यक्षमा निर्वाचित विजुक्छे पोखरा महानगर पालिकाका पुर्व वडाध्यक्ष समेत हुन । उनि यस अगाडी क्याम्पस संचालक समितिको सदस्य समेत भैसकेका छन ।
यस बाहेक बिजुक्छे विभिन्न सामाजिक संघ संस्थामा समेत सक्रिय छन । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेका विजुक्छेले २ सय ६९ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी सोमनाथ बरालले १ सय ४४ मत मात्र प्राप्त गरेका थिए ।
क्याम्पस संचालक समितिको सदस्यहरु एकल संक्रमणीय निर्वाचनबाट चयन गरिएका थिए । जस अनुसार राजेन्द्र पहारी , गणेश बहादुर अधिकारी, रंगिला आचार्य , बिजय आचार्य , ध्रुव चालिसे, नम्रता बराल र कृष्ण तिमिल्सिना बिजुक्छे प्यानलबाट निर्वाचित भएका थिए भने बराल प्यानलबाट शोभा मोहन पौडेल, ऋषिराज गौतम, इन्द्र प्रसाद पौडेल र अर्जुन श्रेष्ठ निर्वाचित भएका थिए ।
बिजुक्छे प्यानलबाट उमेदवार बनेकी सुनिता गिरी पराजित हुंदा युवराज पराजुली सदस्यमा निर्वाचित भएका छन । नेपाली कांग्रेस निकट मानिएका बिजुक्छे प्यानलका तर्फबाट उमेदवार बनेका हरु मध्ये सुनिता गिरी मात्र पराजित हुनु र माओबादी केन्द्र निकट युवराज पराजुली निर्वाचित हुनुमा क्याम्पसका निवर्तमान अध्यक्ष तारा गिरी समेतले सुनिताको सट्टा युवराजको पक्षमा मत मागेको भन्ने चर्चा सर्वसाधारण बिच चलेको छ ।