Play

असंख्य स्रोता एवं दर्शकको मन जितिसकेका प्रिय गायक पशुपति शर्माका केही किस्साहरू…..

गुरुकुल खबर


पशुपति शर्मालाई चिनाउन कुनै फुर्काे जोडिरहनु पर्दैन । नेपाली लोकदोहोरी क्षेत्रका चर्चित यी गायकले थुप्रै गीतमार्फत आफूलाई प्रमाणित गरिसकेका छन् ।

आफ्नो सिर्जनाहरूमार्फत असंख्य स्रोता एवं दर्शकको मन जितिसकेका छन् । उनै प्रिय गायकका केही किस्साहरू छन्, जुन धेरैलाई जानकारी नहुन पनि सक्छ ।

सरकारी जागिर खाओस् भन्ने थियो परिवारको चाहना

संगीतको उर्बर भूमि स्याङ्जाको पुतलीबजारमा जन्मिएका पशुपति ५ सन्तान (३ दिदी, १ दाइ) मा कान्छा हुन

पढाइमा सानैदेखि तेजिला उनलाई परिवारले सरकारी जागिरे बनोस् भन्ने चाहेको थियो । सानैदेखि गीत गुनगुनाउने भए पनि उनी ५ कक्षा पढ्दासम्म ‘ठूलो भएर के बन्ने ?’ भनेर कसैले सोध्दा जवाफ दिन्थे – डाक्टर । उनका दाइ पनि पढाइमा उत्तिकै तेज थिए । दुवै दाजुभाई नै ‘डाक्टर बन्ने हो’ भन्थे ।

तर समयसँगै पशुपतिको रहर फेरियो । ‘परीक्षामा फर्स्ट, फर्स्ट हुन्थे । त्यसैले ६ कक्षा नपढी ५ बाट सिधै ७ मा पुगें,’ पशुपति सम्झन्छन्, ‘त्यसपछि तेस्रो/चौथो पोजिसनमा हुन थालें । अनि म दाइलाई भन्न थाले, तँ डाक्टर बन्, म त गायक हुने हो ।’

परिवारसामु भने पशुपतिले गायनप्रतिको मोह लामो समयसम्म सुनाउन सकेनन् । उनका दाइ भने यतिबेला डाक्टर छन् ।

गायनप्रति सानैदेखि मोह बढ्नुको श्रेय भने पशुपति रेडियो नेपाललाई दिन्छन् । बमबहादुर कार्की, प्रेमराजा महत, नारायण रायमाझी, सावित्री शाह, बीमाकुमारी दुरा लगायतका अग्रज कलाकारको गीत सुनेपछि आफूलाई लोक संगीतप्रति मोह बढेको पशुपति सम्झन्छन् ।

एसएलसी दिएपछि काठमाडौं आए

पशुपतिका कान्छा मामा रेडियो नेपाल क्षेत्रीय प्रसारण कार्यालय पोखरामा कार्यरत थिए । बेला मौकामा पशुपति मामासँगै रेडियो नेपाल पुग्थे । त्यहाँ लोकगायक पुरुषोत्तम न्यौपाने पनि कार्यरत थिए ।

रेडियोतिर जान पाइने, कलाकार देख्न पाइने भएकाले पशुपतिमा गायक बन्ने चाहना अझ बढ्दै थियो ।

रेडियोमा प्रसारण हुने चर्चित कार्यक्रम ‘देउराली’ उनी निकै सुन्थे । जसमा जो–कोही सहभागी भएर गीत गाउन पनि सक्थे तर पशुपतिले मामासँग आफ्नो रहर व्यक्त गर्न सक्दैनथे । एलएलसी दिएपछि पोखरा नै बसेर पढ्ने उनको इच्छा थियो । ‘त्यहाँ भएपछि रेडियोमा गएर गीत गाउँछु भन्ने थियो तर बुवाआमाले काठमाडौं जा भनेर पठाउनुभयो,’ उनले सुनाए ।

उनी दाइसँग बसेर पढ्न काठमाडौं आए । यो २०५६ सालको कुरा थियो । त्यतिबेला एमबीबीएस अध्ययनरत थिए उनका दाइ । पशुपति दाइका अगाडि आफ्नो रहर नसुनाई पढाइमै बढी केन्द्रित रहे । त्यसको २ वर्षपछि दाइ एमबीबीएसमा नाम निकालेर काठमाडौं बाहिर लागे ।

३ हजार तलबमा दोहोरी छिरे

पशुपति ‘प्लस टु’ सकेर बसेका थिए । एकदिनको कुरा, उनी गोंगबु गलकोपाखामा हिँडिरहेका थिए एक्लै । एकाएक संगीतको आवाज उनको कानमा ठोक्कियो, सारे ग मप … । उनका पाइला त्यही रोकिए । संगीतको आवाज आएतर्फ फर्किएर हेरे, बोर्डमा लेखिएको देखे – मेमोरी कला केन्द्र ।

उनलाई लाग्यो, ‘यो त स्वर राम्रो बनाउने ठाउँ पो रहेछ । अहिले फ्री पनि छु, अब यहाँ गएर स्वर राम्रो बनाएर गायक बन्नुपर्छ ।’ उनको भनाइ पत्याउने हो भने पशुपति त्यतिबेला निकै सोझा थिए । लजाउने र डराउँथे पनि । त्यहाँ पनि भित्र गएर आफ्ना कुरा राख्न उनलाई निकै धक लाग्यो ।

‘त्यहाँभित्र छिरेर कुरा राख्नै ७ दिन लाग्यो मलाई,’ त्यो क्षण सम्झन्छन् उनी । संगीत सिक्न मासिक ८०० रुपैयाँ लाग्ने रहेछ । उनले त्यहाँ संगीत सिक्न थाले ।

त्यो दोहोरीको माहोल बढ्दै गरेको समय थियो । शहरमा दोहोरी साँझहरू थपिँदै थिए । उनलाई संगीत सिकाइरहेका गुरुले नै दोहोरी साँझ किनेछन् । उनले पशुपतिलाई दोहोरी साँझमा गीत गाउनका लागि प्रस्ताव राखे । तलब पनि तोकिदिए मासिक ३ हजार ।

‘संगीत सिक्दा मासिक ८०० तिर्नुपर्थ्यो । दोहोरी साँझबाट ३ हजार आउने भयो । मेरो त बचत हुने भयो,’ उनले सम्झिए, ‘एकदमै खुशी भएर दोहोरी साँझमा काम शुरू गरें ।’

ठमेलमा रहेको त्रिवेणी दोहोरी साँझमा उनले दोहोरी गाउने काम शुरू गरे । त्यहाँबाट उनको सांगीतिक संघर्ष शुरू भयो । उनले दोहोरी कसरी गाउने भन्ने कुरा सिके, आफूलाई निखार्दै अगाडि बढाए र दोहोरी साँझमा ३ महिना काम गरे । त्यसपछि उनलाई अर्को दोहोरी साँझबाट प्रस्ताव आयो । चाबहिलमा रहेको सप्तकोशी दोहोरी साँझ पुगेर दोहोरी गाउन थाले उनी ।

पहिलो गीत रेकर्ड गराउन १२ दिन

पशुपतिले पहिलो एल्बम २०५९ सालमा सार्वजनिक गरेका हुन् । ३ वटा गीत समावेश एल्बम थियो ‘स्याङ्जामाथि वन’ ।

पहिलो एल्बम रेकर्ड गराउँदाको क्षण पनि रोचक छ । त्यतिबेला एउटा गीत गाउन १२ दिन लागेको पशुपति बताउँछन् । ‘खत्रा गाउँछु भनेर स्टुडियो गए, सुर नै बसेन भन्नुहुन्छ । आज गयो त्यही भन्नुहुन्छ । भोलि त्यही भन्नुहुन्छ,’ उनी स्मरण गर्छन्, ‘दिनदिनै जाँदै सिक्दै फर्किंदै गरें । १२ दिनपछि बल्ल ठीक छ भन्नुभयो । त्यसपछि गीत फाइनल भएको थियो ।’ रेडियोमा गीत बज्यो पनि तर चर्चा राम्रोसँग हुन पाएन । ‘आफैं गायक, आफैं स्रोता भने जस्तो भयो तर त्यो गीतले स्टुडियोमा यसरी गाउनुपर्छ भन्ने ज्ञान भयो,’ उनले भने । दोहोरी साँझमा काम गर्दा पशुपतिमा प्रत्यक्ष दोहोरीतर्फ बढी लगाव थियो ।

पढ्न निस्किएको छोरोलाई जब बुवाले भृकुटीमण्डपमा गीत गाइरहेको देखे …

पहिलो एल्बम ल्याइसकेका थिए उनले । दोहोरी साँझमा गाइरहेकै थिए तर छोरोले गीत गाउँदैछ भन्ने कुरा परिवारलाई सूइँको थिएन । गाली खाइने डरले भन्ने आँट समेत गरेका थिएनन् उनले । एकदिन गाउँबाट उनका बुवा काठमाडौं आए । कस्तो परिस्थिति परिदियो भने सोही दिन भृकृटीमण्डपमा राष्ट्रिय दोहोरी प्रतियोगिताको फाइनल कार्यक्रम हुँदै थियो । जुन कार्यक्रममा सहभागी हुँदैथिए पशुपति ।

उनले सोचे, ‘बुवालाई भनौं, गाली खाइने डर । नभनौं, कोठाबाट कसरी फुत्किने ?’ उनले जुक्ति निकाले, ‘बुवा पढ्न जान्छु ।’

बुवालाई पढ्न जान्छु भनेर झोलामा दौरा सुरुवाल राखेर कोठाबाट निस्किएर भृकुटीमण्डप पुगे उनी । फाइनल भएकाले दर्शकहरूको बाक्लो भीड लागेको थियो । प्रतियोगिता शुरू भयो, केही समयपछि पशुपतिको गाउने पालो आयो । गीत गाउँदै गर्दा यसो दर्शकदीर्घामा आँखा डुलाए, पछाडिपट्टि बुवाले ताली बजाइरहेका छन् ।

उनी सम्झन्छन्, ‘म निस्किए पनि बुवा पनि घुम्न भनेर निस्किनुभएछ । भृकुटीमण्डप पुग्दा भीडभाड देखेपछि टिकट काटेर भित्र छिर्नुभएको रहेछ ।’ ६२ टीम सहभागी प्रतियोगीतामा पशुपति द्वितीय भए । ७५ हजार रुपैयाँ नगद पुरस्कार पाए । त्यतिबेला बुवाले गाली भने गरेनन् । त्यसपछि बरु दाइ र आमाले यो बिग्रिने भयो भनेर चिन्ता गरेको पशुपति सम्झन्छन् । यद्यपि पशुपति गीतसंगीतबाट पछि हट्ने पक्षमा थिएनन् ।

उनले लोकसेवाको परीक्षा पनि दिए

२०६३ सालतिरको कुरा हो, सँगैका साथीहरू पढाइमा अगाडि बढिसकेको देखेर पशुपतिलाई पीर पर्न थाल्यो । आफूभन्दा कम ब्याचका साथीहरूले उनलाई भेट्टाउन थालिसकेका थिए । त्यसपछि दोहोरी साँझ छाडे अनि ब्याचलर तेस्रो वर्षमा पढ्दै गरेका पशुपति पुनः पहिलो वर्षमा भर्ना भएर पढाइमा केन्द्रित हुन् थाले । त्यसको झण्डै डेढ वर्षपछि पशुपतिले लोकसेवाको पनि परीक्षा दिए । उनको परिवारको इच्छा छोराले सरकारी जागिर खाओस् भन्ने थियो । त्यही इच्छा र दवाबका खातिर उनले लोकसेवाको तयारी गरेर परीक्षा दिएका थिए तर सफल भएनन् । त्यसपछि आफ्ना समकालीन साथीहरू रामजी खाँण, युवराज आचार्य, रमेशराज भट्टराई लगायतका गीतहरू टेलिभिजनमा प्रसारण हुन थालेका थिए । ‘म त गीतसंगीत छाडिसकेको जस्तै भएको थिएँ । उनीहरूका गीतले चर्चा कमाउँदै थिए । मलाई आफू पछाडि परेजस्तो लाग्यो,’ उनी भन्छन्, ‘त्यसपछि पढ्छु पनि, संगीततर्फ पनि लाग्छु भनेर लागें ।’

… त्यसपछि चलेको चल्यै

लाइभ दोहोरीमा माहिर । थुप्रै पुरस्कार जितिसकेका थिए उनले । त्यसैले उनलाई गीत तयार गर्न गाह्रो थिएन । आफैं गीत बनाए, राधिका हमाल र उनैले गाए । गीत थियो, ‘टलक्कै ऐना टल्कियो’ । यो तीजको गीतले राम्रो चर्चा पायो ।

अर्को वर्ष तीज गीतमा अर्को गीत बनाए, ‘अचम्मै राम्रो नाच्छे मोरिले’ । राधिका हमालसँगै गाएको यस गीतले निकै चर्चा पायो । ‘बल्ल पो पीर पर्न थाल्यो,’ बोलको गीत पनि चल्यो । ‘लरक्कै लरक्यो रातो सारी भूइँमा’, ‘अब त चाहिने जो मेरै पालि हो’ जस्ता तीजका गीतहरू निकै रुचाइए ।

पशुपति सांगीतिक माहोलमा सफलता पाउँदै गएका थिए । दाइले एमडी सकिसकेका थिए । कान्छो छोरा गीतसंगीतमा लागेर बिग्रियो भन्ने परिवारको चिन्ता यथावत थियो । गीत गाएर भविष्य सुनिश्चित हुँदैन भन्ने बुझाइ परिवारमा थियो । परिवारको इच्छाबेगर गीतसंगीतमा लागेका कारण पशुपति घरमा लामो समयको अन्तरमा जान्थे । कारण, घर गएपछि गुनासो सुन्नुपर्थ्यो । घर जाँदा ठूलो छोरो डाक्टर बन्यो, सानो छोरो बिग्रियो भन्ने गुनासो पशुपतिले धेरै पछिसम्म सुनिरहनुपरेको थियो । घर गएका पशुपति साँझ खाना खान बस्दा आमाले भनिछन्, ‘फलोनोको छोराले खरिदारमा नाम निकालेछ । फलानोले सुब्बामा नाम निकालेछ ।’

पशुपति भन्छन्, ‘त्यो भनेको तैले पनि खरिदार, सुब्बामा नाम निकाल्नुपर्छ भन्नुभएको थियो तर म गायनमा डुबिसकेको थिए ।’

राधिका हमालसँगै गाएको दोहोरी गीत ‘क्याम्पस पढन् आउने’ निकै हिट अर्थात् सुपरहिट भयो । विष्णु माझीसँग गाएको ‘एउटा आत्मा छ’लाई पनि स्रोता दर्शकले रुचाए । यतिञ्जेलसम्म पशुपतिलाई मेला, महोत्सव/स्टेज कार्यक्रमबाट निम्तो आउन थालिसकेको थियो ।

२०७० सालमा सार्वजनिक ‘मलाई अमेरिका यही’ बोलको गीतले पशुपतिलाई छुट्टै चर्चा दिलायो । यस गीतले विदेशमा होइन, स्वदेशमै श्रम र सीप प्रयोग गरौं भन्ने आशय व्यक्त गरेको छ । जुन गीतले धेरैलाई स्वदेशमा कृषि र पशुपालन गर्न समेत प्रेरित गरेको समाचारहरू सार्वजनिक भएका थिए ।

गीत आएपश्चात भने आफूप्रति परिवारको गुनासो नरहेको पशुपति बताउँछन् । अब छोराले गीतसंगीतमै राम्रो गर्न सक्दोरहेछ, गीतसंगीतबाट जीवन चलाउन सक्छ भन्ने विश्वास परिवारमा परेको उनले बताए । अहिले पनि बुवाआमा आफूप्रति एकदमै सन्तुष्टि र खुशी रहेका पशुपति बताउँछन् ।

त्यसपछि पनि उनका गीतहरू निरन्तर चर्चाको शिखरमै रहिरहे । ‘झम झम दर्कियो पानी’ होस् चाहे ‘क्रिकेट खेल्न जाम’, चाहे ‘ढाड दुखेर मार्‍यो’ नै किन नहोस् । यी गीतहरूले स्रोता दर्शकबाट माया पाए । ३ वर्षअघि देशमा भइरहेको विसंगतिलाई व्यंग्य गर्दै ल्याएको ‘लुट्न सके लुट’ले सांगीतिक वृत्तमा मात्र नभई राजनीतिक वृत्तमै तरंग ल्याइदियो ।

२ महिनाअघि मात्रै सार्वजनिक ‘आफ्नो आफ्नो दुःख’ले पनि निकै चर्चा पायो । हालसम्म पशुपतिले २०० बढी गीतमा स्वर दिएका छन् । तीमध्ये दर्जनौं गीतले स्रोता/दर्शकको मन जिते । उनी पनि सधैं चर्चाको शिखरमै रहिरहे ।

फरक प्याटन अंगालेर चलेका गायक

पशुपति गाउँ, समाजमा जे देख्छन्, त्यसैलाई गीतमा उतार्छन् । समाज र मानवीय संवेदनालाई प्रस्तुत गर्नु उनको विशेषता बनेको छ । यद्यपि उनका अधिकांश गीतहरू कमेडी, व्यंग्यात्मक शैलीमा प्रस्तुत छन् । आफ्ना गीतहरू केही सन्देशमूलक पनि होस् भन्ने उनी चाहना राख्छन् । कुनै गीतमा भने पशुपतिले आफ्नै जीवन भोगाइलाई रमाइलो तरिकाले उतारेका छन् ।

उनका गीतहरू नियाल्दा अरुले भन्दा फरक प्याटन अँगालेको भाव हुन्छ । पशुपति स्वयं आफूले विगतदेखि नै फरक प्याटन अँगालेको बताउँछन् । अरुले भन्दा फरक गर्दा आफूलाई स्रोता दर्शकले रुचाएको उनको ठम्याइ छ ।

करिअरको शुरूमा उनी आफूलाई अरुभन्दा कमजोर सोच्थे रे ! किनकि कतिपयले उनलाई भन्थे, ‘तेरो स्वर राम्रो छैन । शब्द/संगीत ठीक छ ।’ उनी आफैंलाई पनि लाग्यो, ‘अरुकै शैलीमा गीत गरें भने नचल्न पनि सक्छु । म हराउन पनि सक्छु ।’

‘बजारको लहरभन्दा फरक गरें भने मेरो प्रतिस्पर्धा कोहीसँग हुँदैन । त्यसैले म अरुभन्दा फरक बाटो हिँडें,’ उनले लोकान्तरसँग भने, ‘सीआरबीटी/पीआरबीटीको समयमा मैले त्यसलाई टार्गेट गरेर गीत निकालिनँ । अहिले पनि धेरैले भाइरल/भाइरल भन्छन् । भाइरललाई खेलाएर काम गरौं भन्छन् तर मलाई त्यसरी काम गर्ने मन नै हुँदैन ।’

उनी आफूलाई धेरै चर्चा नचाहिएको बताउँछन् । यस क्षेत्रमा ‘आफू छु है’ भन्ने पारिरहन पाए पुग्ने उनको भनाइ छ । पशुपतिले २०६७ सालमा पवर्तकी रेखा पौडेलसँग विवाह गरेका हुन् । विवाहपछि श्रीमतीको साथले सांगीतिक क्षेत्रमा लाग्न अझ सहज भएको पशुपति बताउँछन् । पशुपति र रेखाका १ छोरी र १ छोरा छन् ।

२४ मंसिर २०७९, शनिबार ०८:५५ मा प्रकाशित
Nabintech