मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा ३ को प्रतिस्पर्धा रोचक बन्दै गएको छ। त्यहाँ माओवादीलाई शान्तिप्रक्रियामा ल्याउँदै कांग्रेसलाई गणतन्त्रमा जान भूमिका खेलेका नेता कृष्णप्रसाद सिटौला र अहिले पनि राजतन्त्रको पक्षमा प्रतिबद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन आमनेसामने छन्। तीन दशकभन्दा पहिलेदेखि नै एकअर्काविरुद्ध खडा झापाका यी दुई नेता एक नदीका दुई किनाराजस्ता छन्।
यसअघि तीनपटक आमनेसामने भइसकेका यी दुई नेता चौथोपटक निर्वाचन प्रतिस्पर्धामा उत्रिएका छन्। २०५६ र २०७० मा दुईपटक सिटौलाले निर्वाचन परिणाम आफ्नो पक्षमा पार्दा लिङ्देनले २०७४ मा वाम गठबन्धनको बलमा एकपटक जित निकालेका छन्। त्यतिबेला लिङ्देनले कांग्रेसका प्रभावशाली नेता सिटौलालाई १३ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए। मंसिर ४ गते हुने निर्वाचनमा पनि एमालेको समर्थनमा अघिल्लो निर्वाचनको परिणामलाई निरन्तरता दिने पक्षमा लिङ्देन छन्। तर सिटौला पार्टी संगठनका साथै माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) सहित सत्ता गठबन्धनको बलमा परिणाम उल्ट्याउन लागिपरेका छन्।
लिङ्देन पार्टीभित्र बढ्दै गएको प्रभाव र एमालेसँग चुनावी तालमेलका आडमा झापा ३ को परिणामलाई आफ्नो पक्षमा पार्ने दाउमा छन्। राप्रपा अध्यक्षसमेत रहेका लिङ्देनका लागि निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने मुख्य आँट र भरोसा एमाले बनेको छ। उनका मुख्य प्रतिस्पर्धी सिटौला पनि माओवादीसहितको गठबन्धनका बलमा एमालेभित्रको असन्तुष्ट पक्षको मतकै भरोसामा परिणाम बदल्ने रणनीतिमा छन्।
एमाले नेता तथा व्यवसायी दुर्गा प्रसाईंसहित त्यस क्षेत्रमा केही नेता तथा कार्यकर्ता राप्रपासँगको चुनावी तालमेलसँग असन्तुष्ट छन्। पार्टीको निर्णयविरुद्ध यही क्षेत्रमा पर्ने हल्दीबारी गाउँपालिकामा एमालेबाट निर्वाचित निवर्तमान उपाध्यक्ष डम्बरबहादुर गिरीले बागी उम्मेदवारी दिएका छन्। लामो समय एमालेमा रहेर राजनीति गरेका गिरी झापा जिल्ला कमिटी सदस्यको जिम्मेवारीमा थिए। उनलाई एमालेले कारबाही गरेको छ। अघिल्लो निर्वाचनमा लिङ्देनलाई चुनाव जिताएर पठाए पनि पाँच वर्षे कार्यकालमा आफूहरूसँग सहकार्य नगरेको भन्दै एमालेका स्थानीय नेताहरू उनीसँग असन्तुष्ट छन्।
लिङ्देनसँग असन्तुष्ट समूहले विद्रोही उम्मेदवार गिरी वा कांग्रेस नेता सिटौलालाई मतदान गर्ने विश्लेषण गरिएको छ। त्यसले सिटौलालाई केही राहत पुग्ने आकलन छ।
एमालेको मत प्रभावित हुन नदिन लिङ्देनले ओलीलाई झापामा उतारेर संयुक्त भेला आयोजना गरेका छन्। ओलीले लिङ्देनले चुनाव नजिते देशद्रोहीले जित्ने भन्दै पार्टीको इज्जतका लागि पनि उनलाई चुनाव जिताउन नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्।
विगतमा सिटौलासँग रहेका भारतेन्द्रकुमार मल्लिक केही समयअघि राप्रपामा प्रवेश गरेका छन्। त्यसले लिङ्देनलाई थप उत्साहित बनाएको छ। तर सिटौला राप्रपासँगको तालमेलप्रति असन्तुष्ट एमाले नेता तथा कार्यकर्ताको सहानुभूति लिने प्रयासमा छन्। पञ्चायतविरुद्ध आन्दोलनका क्रममा २०४६ चैत १२ गते मेची क्याम्पसमा पुतला दहन कार्यक्रमविरुद्ध राजेन्द्र लिङ्देन नेतृत्वको पञ्चायत समर्थित विद्यार्थी संगठन राष्ट्रवादी विद्यार्थी मण्डलको आक्रमणबाट अखिलका राम थापाको मृत्यु भएको थियो भने मोहन महर्जन गम्भीर घाइते भएका थिए। एमाले नेता तथा कार्यकर्ताले त्यस्ता व्यक्तिलाई कसरी मतदान गर्लान् भन्ने प्रश्न गर्दै आएका छन्।
पञ्चायतविरुद्ध सञ्चालित आन्दोलनको नेतृत्व सिटौलाले गरेको र त्यसको दमनको नेतृत्व लिङ्देनले गरेको भन्दै दुई नेताबीचको द्वन्द्व पञ्चायतकालदेखि नै रहेको निकटहरू बताउँछन्। २०३६ सालको जनमतसंग्रहका बेला सिटौलालाई बहुदलको पक्षमा आम सभा गर्न लिङ्देनका बुवा मानप्रसादले समेत अवरोध गरेका थिए । त्यतिबेलाको प्रतिशोध तथा प्रतिस्पर्धाको भाव अझै नमेटिएको जानकारहरू बताउँछन्। त्यसकै परिणाम २०७४ सालमा झापा ३ मा लिङ्देनलाई छाड्न सिटौला तयार नभएको निकटहरूको बुझाइ छ।
गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतपरिणाम हेर्ने हो भने त्यहाँ कांग्रेसको २५ हजार ९४९ छ। एमालेको २१ हजार ८५ र राप्रपाको २१ हजार १५९ मत छ भने माओवादी केन्द्रको ६ हजार ६८८ मत छ। यसरी हेर्दा एमाले–राप्रपा गठबन्धनको ४२ हजार २४४ मत देखिन्छ भने कांग्रेस र माओवादीको जोड्दा ३२ हजार ६३७ हुन्छ। सत्ता गठबन्धनमा रहेका नेकपा एस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को मत १ हजारभन्दा कम छ। यस आधारमा यो क्षेत्रमा सिटौलाभन्दा लिङ्देन बलिया देखिन्छन्।
तर सिटौलानिकट नेताहरूले भने स्थानीय तहको निर्वाचनपछि मात्र मतदाता नामावलीमा नाम छुटेका करिब दुई हजारलाई समेटेको, पार्टीभित्र असन्तुष्ट पक्षलाई विश्वासमा लिनुका साथै एमाले र राप्रपाका नेता–कार्यकर्ता कांग्रेसको पक्षमा आएको जिकिर गर्दै आएका छन्।
को हुन् कृष्णप्रसाद सिटौला ?
२००६ सालमा तेह्रथुममा जन्मेका कृष्णप्रसाद सिटौला २०३३ सालदेखि राजनीतिमा सक्रिय छन्। रंगप्रसाद सिटौलाका छोरा कृष्णप्रसादले बिएस्सी र बिएल गरेका छन्। प्रगतिशील राजनीतिमार्फत कांग्रेस राजनीतिमा सक्रिय सिटौलाले केही समय शिक्षण र वकालत पेसा पनि अपनाएका थिए। २०४६ को राजनीतिक परिवर्तनका क्रममा झापामै रहेर सक्रिय सिटौलाले २०५१ को मध्यावधि निर्वाचनसँगै केन्द्रीय राजनीतिमा आफ्नो स्थान बनाएका हुन्। गिरिजाप्रसाद कोइरालासँगको निकटतासँगै राजा ज्ञानेन्द्रको २०५९ असोज १८ को प्रतिगामी कदमसँगै सिटौलाले दलीय वार्ता र छलफलमा आफ्नो भूमिका देखाउन थालेका हुन्। तत्कालीन सभापति गिरिजाप्रसादको विश्वास आर्जन गरेका सिटौला माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन वार्ता र छलफलमा कांग्रेसका तर्फबाट खटिने नेताहरूमध्येमा पर्छन्। २०६२÷६३ को आन्दोलनपछिका वार्ता र छलफलमा सधैं सहभागी सिटौलाले सरकारको उपप्रधानमन्त्री तथा पार्टीको महामन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।
को हुन् राजेन्द्रप्रसाद लिङ्देन ?
राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन २०२२ भदौ २२ गते जन्मेका हुन्। धनकुमारी र मानप्रसाद लिङ्देनका छोरा राजेन्द्र बाल्यकालदेखि नै पञ्चायत र राजतन्त्रका पक्षपाती थिए। पार्टी अध्यक्ष बनाउनकै लागि पनि पूर्वराजा ज्ञानेन्द्र शाहले चलखेल गरेको आरोप निवर्तमान अध्यक्ष कमल थापाले नै लगाएका थिए। राजनीतिशास्त्र स्नातक लिङ्देन २०७४ को आम निर्वाचनमा झापा ३ बाट निर्वाचित भएका हुन्। २०३८ देखि विघटित राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको विभिन्न तहमा रहेर २०४६ सम्म काम गरे। २०४९ देखि २०५४ सम्म राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संस्थापक केन्द्रीय अध्यक्षको जिम्मेवारी निर्वाह गरेका उनले बहुदलीय व्यवस्थापछिका दुवै स्थानीय निर्वाचनमा तत्कालीन गोलधाप–३ को वडाध्यक्ष बनेका थिए।