काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको छ । मापदण्ड अनुसार पहिले प्रदेश र प्रतिनिधिसभमा समानुपातिका परेकाहरुले चान्स पाउने छैनन् । एकपटक परिसकेकाले दुबैतिर दावी गर्न पाउँने छैनन् ।
बुधबार अकस्मात प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय संसदीय समितिको बैठकले उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको हो । गठबन्धनमा सिट बाँडफाँटको छलफल चलिरहेका बेला सभापति देउवाले यो बैंठक बोलाएका थिए ।
सभापति देउवाले आफु निकट केही केन्द्रीय सदस्यहरूलाई समेत आमन्त्रण गरेका थिए । बैठकले समानुपातिकतर्फ उम्मेदवार चयनका चार मापदण्ड तोक्ने निर्णय गरेको महामन्त्री गगन थापाले जानकारी दिए । उनका अनुसार गत स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरूले समानुपातिकतर्फ उम्मेदवारीको दाबी गर्न पाउने छैनन् ।
०७४ मा समानुपातिकतर्फ उम्मेदवार भएका नेताहरूलाई समेत संघ वा प्रदेश दुवैतर्फ उम्मेदवार नबनाउने मापदण्ड तय भएको छ । प्रतिनिधिसभामा समानुपातिकबाट सांसद भएको व्यक्ति अब प्रदेशमा गएर पनि फेरि समानुपातिकबाटै सांसद बन्न नपाउने र प्रदेशमा भएको व्यक्ति प्रतिनिधिसभामा आएर समेत बन्न नपाउने गरी मापदण्ड निर्धारण गरिएको महामन्त्री थापाले बताए ।
त्यस्तै, उच्च नैतिकता, योग्यता, क्षमता भएको र उमेरको सन्तुलनलाई आधार मानेर पार्टीलाई लोकप्रिय मत थप्न सक्ने व्यक्तिलाई समानुपातिकतर्फ उम्मेदवार बनाउने मापदण्ड बनाइएको छ ।
यसमा बढी उमेर भएका प्राथमिकतामा परेका छन् । महामन्त्री थापाले यसपटक एक निर्वाचन क्षेत्रबाट एक उम्मेदवार हुने गरी समानुपातिकतर्फ उम्मेदवार चयन गरिने मापदण्ड तय गरिएको बताए ।
संसदीय समिति २५ सदस्यीय हुने व्यवस्था छ । तर, सभापति देउवाले समितिलाई पूर्णता दिन सकेका छैनन् । सभापतिसहित पदाधिकारीबाहेक नेता रामचन्द्र पौडेलमात्रै समितिको सदस्य छन् । सभापतिका प्रत्यासी कोइराला पनि आमन्त्रित सदस्य मात्रै हुन्।
बुधबारको बैठकले उम्मेदवार चयनका मापदण्डमात्रै तय गरेको छ भने उम्मेदवारबारे छलफल गर्न बिहीबार दिउँसो साढे १२ बजे पुनः बैठक बस्ने भएको छ । सम्भवत समानुपातिक तर्फका उम्मेदवारको नाम बिहीबार नै टुंगो लाग्ने छ ।