Play

पोखरेली व्यवसायी दुई चिरामा विभाजित, प्रजापति र पोखरेलबिच कडा भिडन्त

गुरुकुल खबर


पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनबाट कार्यसमितिको अध्यक्ष सहित विभिन्न पदमा निर्वाचित हुन पोखराका उद्योगी व्यवसायी यत्ति बेला तिब्र दौडधुपमा छन् । प्रत्येक दुई वर्षमा हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएपछि यस पटक पनि दुई वटा समुह चुनावी मैदानमा उत्रिएका छन् । विगतमा पोखरा उद्योग वाणिज्य संघको गरिमा र प्रतिष्ठा पोखराका अन्य संघ संस्थाको तुलनामा महत्वपुर्ण मानिने गरिन्थ्यो ।

तर समयको अन्तरालसंगै निजि क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघ विजनेश क्लवको रुपमा सिमित हुन पुगेको कतिपय व्यवसायीहरु नै बताँउछन् । पोखरा उद्योग वाणिव्य संघ भन्ने बित्तिकै पोखरामा रहेर उद्योग व्यवसाय गर्नेहरुको संस्था बुझिन्छ तर पछिल्लो समयमा पोउवासंघमा नेतृत्व लिनेहरु उद्योग वाणिज्य क्षेत्रमा नाम कमाएका र बिग हाउस भनिनेहरु भन्दा साना व्यवसायी र व्यवसाय नगरेपनि व्यवसायीक फर्मलाई निरन्तरता दिएर सदस्य बन्नेहरुको संख्या धेरै रहेको बताईन्छ ।

यसपटकको अधिवेशनमा संघका बहालवाला वरिष्ठ उपाध्यक्ष पवन प्रजापति र उपाध्यक्ष अर्जुन पोखरेलका बीचमा अध्यक्ष पदमा प्रतिष्पर्धा हुदैछ । अन्य पदमा पनि प्रजापति र पोखरेल समुहले प्यानल नै बनाएर चुनावी मैदानमा उतारेका छन् ।

अधिकांश व्यवसायीहरु नेपाली काँग्रेससंग निकट रहेपनि यस पटक अध्यक्ष पदका प्रत्याशी प्रजापति र पोखरेल दुवैजना र उनीहरुको प्यानलका अधिकांश पदाधिकारी र सदस्य समेत नेपाली काँग्रेस निकट छन् । कतिपयले पोउवासंघको चुनावलाई काँग्रेसभित्रको आन्तरिक चुनावको रुपमा समेत लिन थालेका छन् भने कतिपयले काँगेसभित्रको द्धन्द्धले प्रजापति र पोखरेल प्यानल भन्दा बाहिरबाट उम्मेदवारी दिएका पदाधिकारीलाई फाइदा पुग्ने अनुमान समेत गर्न थालेका छन् ।

प्रजापति समुहका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की र पोखरेल समुहका वरिष्ठ उपाध्यक्ष हरिहर सापकोटा दुवै काँग्रेस निकट व्यवसायी हुन् । सापकोटाको सम्बन्ध एमाले र माओवादी सम्बद्ध व्यवसायीसंग राम्रो भएकोले काँग्रेस बाहेकका अन्य व्यवसायीको मत समेत सापकोटाले पाउने सम्भावना छ । प्रजापति समुहबाट उद्योग तर्फका उपाध्यक्ष हिरामणि पण्डित नेकपा एमाले निकट मानिन्छन् उनका प्रतिष्पर्धी पोखरेल समुहका देवेन्द्र केसी काँग्रेसको गण्डकी प्रदेश सदस्य समेत भएकोले काँग्रेस निकट व्यवसायीको मत केसीले पाउने सम्भावना छ । केसी युवा व्यवसायीमात्र नभएर स्थापित पयर्टन व्यवसायी पनि हुन् ।

वाणिज्य तर्फ स्वतन्त्र रुपमा उपाध्यक्षमा उम्मेदवारी दिएका शोभित पौडेल पनि एमाले व्यवासायीको रुपमा चिनिन्छन् । पौडेल यस अघिको अधिवेशनमा थोरै मतले पराजित भएका थिए । तर यस पटक प्रजापति प्यानलका उत्तममान बुद्धाचार्य र पोखरेल प्यानलका कुमारी मुना बाँस्तोला दुवै जना काँग्रेस निकटका व्यवसायीको प्रतिष्र्पधा हुने भएपछि पौडेललाई जित्न सहज हुने अनुमान समेत कतिपयको छ ।

महासचिव पदमा उम्मेदवारी दिएका पोखरेल समुहका केशवबहादुर खत्री व्यवसायीहरु माझ लोकप्रिय मानिन्छन् । पोउवासंघको उपमहासचिव समेत रहेका खत्रीसंग प्रजापति समुहका बलराम आचार्यले प्रतिष्पर्धा गर्दैछन् । खत्री आचार्य दुवैजना काँग्रेस निकट व्यवसायीहरु प्रतिष्पर्धामा उत्रिए पछि वामपन्थीहरुको तर्फबाट तारानाथ ढुंगानाले पनि महासचिव उम्मेदवारी दिएका छन् ढुंगानाले यसअघिको अधिवेशनमा कोषाध्यक्ष पदमा प्रतिष्पर्धा गरेका थिए । कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका प्रजापति समुहका दिनेशचन्द्र बाँस्तोला र पोखरेल समुहका हरिराज पन्तका बीचमा प्रतिष्पर्धा हुदैछ । बाँस्तोला पोखराका स्थानीय बासिन्दा मात्र नभएर लामो समयदेखि पोखरामै रहेर व्यवसाय संचालन गरिरहेका छन्, जसका कारण बाँस्तोलालाइ्र् स्थानीय व्यवसायीहरुको साथ रहने विश्वास छ । उनका प्रतिष्पर्धी पन्त पनि व्यवसायी माझ लोकप्रिय मानिन्छन् ।

उपमहासचिव पदमा प्रजापति समुहका शोभा गौतम र पोखरेल समहका हर्कबहादुर अधिकारीका बीचमा प्रतिष्पर्धा हुदैछ ।

पोउवासंघको विधानले कार्यसमितिका अध्यक्षसहित ७ जना पदाधिकारी र खुल्ला तर्फबाट १० जना सदस्य निर्वाचित हुने व्यवस्था गरेको छ । १० जना सदस्य आवश्यक पर्नेमा मतदाता व्यवसायीले १० जना भन्दा कम या बढीलाई मतदान गरेमा त्यो मत बदर हुने व्यवस्था रहेकोले सदस्यहरुमा भने मतदाताले छानी छानी मतदान गर्न पाउँनेछन् ।

सदस्यहरुमा भीम गौतम, मनोजकुमार श्रेष्ठ, ललितबहादुर कुँवर, भरत केसी, हिमनिधि लौडारी, बालकृष्ण कोइराला, विनोद केसी, यमनाथ तिमिल्सिना दिलिपकुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ, सुदिप प्रधानांग, प्रभा सुवेदी, रामचन्द्र शर्मा, सुदिप ओझा, कृष्णप्रसाद कोइराला, धमेन्द्रकुमार बाटाजु, माधव बास्ताकोटी र उदय केसी पनि चुनावी प्रतिष्पर्धामा छन् । यिनै १८ जना सदस्य मध्येबाट १० जना निर्वाचित हुनेछन् ।

प्रजापति पोउवासंघमा सदस्य हुदै विभिन्न पदमा रहेर काम गरेपछि अघिल्लो पटक वरिष्ठ उपाध्यक्ष बनेका थिए । पोखरेल पनि सदस्यबाट महासचिव हुदै उपाध्यक्ष बनेका थिए । यसपटक प्रजापति र पोखरेललाई मिलाउन कसरत नभएको पनि होइन । प्रजापति अध्यक्ष र पोखरेललाई वरिष्ठ उपाध्यक्ष राखेर एउटा प्यानल निर्माण गर्ने प्रयास चल्दै गर्दा अन्तिम अवस्थामा प्रजापतिले पोखरेललाई वरिष्ठ उपाध्यक्षको रुपमा जिम्मेवारी दिने कुरामा सार्वजनिक रुपमा प्रतिबद्धता व्यक्त नगरेपछि पोखरेल पनि आफ्नै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।

एक जना युवा व्यवसायीका अनुसार प्रजापतिलाई धेरै व्यवसायीले पोखरेललाई वरिष्ठ उपाध्यक्ष राखेर प्यानल घोषणा गर्न धेरै सुझाव दिएका थिए तर प्रजापति एक जना पुर्व अध्यक्षको दवावमा परेर पोखरेललाई वरिष्ठ उपाध्यक्ष स्वीकार्न तयार भएनन् । यदि प्रजापतिले पोखरेललाई वरिष्ठ उपाध्यक्ष स्वीकारेर प्यानल बनाएको भए प्रजापति पोउवासंघको अध्यक्ष निर्विरोध बन्न पाउने अवस्था थियो तर पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाउन नमान्दा प्रजापतिलाई अध्यक्ष निर्वाचित हुन फलामको चिउरा सरहको चुनौति देखिएको छ ।

यस अगाडी पनि पोखरा उधोग वाणिज्य संघमा आंफु अध्यक्ष बन्नको लागि अपवित्र गठबन्धन गरेको आरोप लागेका एक जना पुर्व अध्यक्षकै कारण यस पटक पनि व्यवसायीहरुलाई दुई समुहमा विभाजित बन्नुपर्न अवस्था आएको बताईन्छ । तत्कालीन अवस्थालाई सम्झिंदै एक जना युवा व्यवसायीले भने – देव क्षेत्री लगायतका धेरै साथीहरु पोउवासंघको रिंगबाट बाहिरिनुपर्ने अवस्था पनि सोही कारणले उत्पन्न भएको हो ।

प्रजापति समुहले वरिष्ठ साथीहरु आफ्नो टिममा रहेको दावी गरिरहंदा पोखरेल समुहले भने आंफ्नो समुहमा वरिष्ठ संगै सक्षम साथीहरु समेत रहेको दावी गरेको छ । दुई अध्यक्षका उमेदवार मध्ये प्रजापतिलाई स्वभाविक उमेदवार मान्ने हरु पनि छन तर उनले निर्णय गर्न नसक्दा र अरुको ईशारामा चल्न खोज्दा नै व्यवसायीहरु विभाजित बन्नु पर्ने अवस्था आएको भन्ने हरु पनि छन । प्रजापतिलाई जातीय आधारमा नेवार समुदायको मत बढ़ी जाने देखिन्छ भने पोखरेललाई ब्राह्मण क्षेत्री समुदायको मत बढी जाने अवस्था छ । राजनीतिक रुपमा  नेपाली कांग्रेस निकट व्यवसायी हरुको मत तुलनात्मक रुपमा पोखरेलले बढी पाउने सम्भावना छ।
पोखरेली व्यवसायी मात्र नभएर आम सर्वसाधारणले समेत नेतृत्व चयन गर्दा आफ्नो समस्याका बारेमा खरो रुपमा बोल्न सक्ने र काम गर्न सक्ने व्यक्तित्वको खोजी गर्ने प्रवृत्ति बढेको छ । विगतका अधिवेशनमा पोउवासंघका पुर्व अध्यक्षहरुको ईशारामा व्यवसायी मतदाताहरुले मतदान गरेर नेतृत्व चयन गर्ने अवस्था रहेको भएपनि पछिल्लो समयमा व्यवसायी आफैले छानी छानी उम्मेदवारलाई मतदान गर्ने र नेतृत्वमा पु्ुर्याउने अवस्था देखिएको छ ।

यसमा पनि पोउवासंघका पुर्व अध्यक्षहरु यसपटक सार्वजनिक रुपमा कुनै पक्षमा खुलेर मत मागेका छैनन् । एक दुई जना पुर्व अध्यक्षले जातिय वा व्यक्तिगत सम्बन्धका आधारमा प्रजापति समुहलाई समर्थन गरेको बताईए पनि अन्य सबैजसो पुर्व अध्यक्षहरु मौन जस्तै देखिएका छन् । मतदानको समयसम्म पुर्व अध्यक्षहरु को कता लाग्छन् र विगतमा जस्तै सार्वजनिक रुपमा कसैका लागि मत माग्छन् या माग्दैनन् त्यो भने प्रतिक्षाको विषय बनेको छ ।

चुनावी प्रतिष्पर्धामा दुई समुहमध्ये पोखरेल समुहले ‘हाम्रो ध्येयः सम्मानित संघ, समुन्नत व्यवसाय’ भन्ने नारा अगाडि सारेको छ भने प्रजापति समुहले ‘संघको जिवन्तता व्यवसाय विकासकालागि अभियन्ता’ भन्ने नारा अगाडि सारेको छ ।

पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशन तथा ६८ औं साधारणसभा भदौं २४ गते शुक्रबार सुरु हुने र शनिबार सम्पन्न हुदैछ । आईतबारसम्ममा पोखरा उद्योग वाणिज्य संघले नयाँ नेतृत्व पाउँने अपेक्षा गरिएको छ ।

 

 

२४ भाद्र २०७९, शुक्रबार ०७:१९ मा प्रकाशित
Nabintech