पोखरा । पोखरा उद्योग वाणिज्य संघको निर्वाचनका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष पवन प्रजापतिले प्यानलसहित उम्मेद्वारी घोषणा गरेका छन् । सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर पवनले प्यानलसहित उम्मेद्वारी घोषणा गरेका हुन् ।
पवनको टिममा वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्षमा हिरामणि पण्डित र वाणिज्यतर्फको उपाध्यक्षमा उत्तममान बुद्धाचार्य परेका छन् । यस्तै, महासचिवमा बलराम आचार्य, उपमहासचिवमा शोभा गौतम र कोषाध्यक्षमा दिनेशचन्द्र बास्तोला छन् ।कार्यकारिणी सदस्यहरुको नाम टुंग्याउन बाँकी रहेको बताइएको छ ।
यस्तो छ प्रतिवद्धता
पवनले १४ बुँदे आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् । व्यवसायिक वातावरण निर्माण र उद्योगी, व्यवसायीको सम्मान अभिवृद्धि गर्ने उनले लक्ष्य बनाएका छन् ।
उनले व्यवसायिक डाटा बैंक तथा प्रवर्द्धन केन्द्र स्थापना गर्ने, रुग्ण उद्योग र नोक्सानमा चलेका व्यवसायक लागि बैंक तथा घरबेटीसंग छलफल गरेर सहजता प्रदान गर्ने, व्यवसायी बन्न चाहनेका लागि आवश्यक तथ्यांक उपलव्ध गराइने र नवप्रवर्न तथा महिला उद्यमशिलता विकासलाई केन्द्रमा राखेर काम गर्ने, बजारीकरण र प्रवर्द्धनमा सघाउने बताए ।
सचिवालयको पुनःनिर्माण, अत्यधुनिक बहुउदेश्यीय भवन निर्माणको लक्ष्य लिइएको उनको प्रतिवद्धतापत्रम उल्लेख छ ।
राष्ट्रिय औद्योगिक व्यापार मेलालाई अब पृथक किसिमले सञ्चालन गर्नका लागि सरसल्लाह र सुझावको आधारमा अघि बढ्ने उनको प्रतिवद्धता छ ।
संघलाई साना, मझौला र ठूला व्यवसायीसहित महिला उद्यमीको साझा संस्था बनाईने, उद्योगी व्यवसायीमाथि पर्ने समस्या निराकरणका लागि राज्यबाट पाउनुपर्ने सबै खालका सुविधा दिलाउने र व्यवसाय रक्षाका विशेष ध्यान दिइने उनले स्पष्ट पारे ।