Play

लम्जुङको वाग्लेफाँटबाट अमेरिकाको भर्जिनिया पुगेर बस्दाको अनुभुती-आमाकी छोरी र छोराहरूकी आमापछि आफ्नै आमाकी आमा बन्न पुगें !

गुरुकुल खबर


निरा शर्मा

अमेरिका , लम्जुङको वाग्लेफाँटबाट काठमाडौं हुँदै अमेरिकाको भर्जिनिया आइपुगेको भोलिपल्ट बाहिर निस्कँदा बाले ‘वालमार्ट’ लेखेको पढ्नुभयो । मेरो सानो छोरो (साने) छक्कै पर्यो । ‘लौ, बाले अंग्रेजी पढ्नुभा ? आमाले पनि जान्नुभाछ ?’

‘यो ठूलो एबीसीडी त चिन्छु, सानो त आउँदैन । बरु तिमी नै सानो एबीसीडी पनि सिकाइदेऊ न है,’ आमाले नातिको उत्सुकता मात्र मेट्नुभएन, आफ्नो चाहना पनि जाहेर गर्नुभयो ।
‘भैहाल्छ नि आमा । म सिकाइहाल्छु नि,’ सानेले आज्ञाकारी बालकले झैं भन्यो ।

तर मलाई खसखस भो र मनमनै लागिरह्यो– ‘सात दशक पार गरीसकेकी मेरी आमालाई अहिले आएर किन अंग्रेजी सिक्ने रहर लाग्यो होला ? त्यो रहर बरु मलाई लाग्नु नि !’
‘ल ल साने, अब अमेरिका बसुन्जेल एबीसीडी मात्र हैन आमालाई खरर्र अंग्रेजी नै बोल्ने बनाउनुपर्छ !’ मैले सानेलाई उल्क्याएँ ।

काम, काम र काम पछिको सप्ताहान्तमा यहाँको फरकपन भनेकै यसो फुर्सद भयो कि घुमघाममा निस्कने हो । त्यसरी नै दिन हप्ता र महिना बितिरहेका थिए । आमाको सानो एबीसीडी सिक्ने रहर ओझेल पर्यो ।

एक दिन म काममा भएको बेला आमाको फोनले काम गरेनछ । सानेसँग मद्दत माग्नुभएछ– ‘यो फोन चार्ज गर्दा पनि अन नै हुँदैन हेरिदेऊ न कान्छु ।’ तर उसले गर्दा पनि फोन अन भएनछ ।
म घर पुग्नासाथ सानेले सोध्यो, ‘मामु आमाको फोन कति पुरानो हो ? ब्याट्री नै गएजस्तो छ ।’

म झसंग भएँ । बस्तीमा सलह पसेझैं बहुराष्ट्रिय कम्पनीका सञ्जाल विश्वका गरिबभन्दा गरिब मुलुकसम्मै विस्तार भएपछि हरेकका हातहातै मोवाइल हुनु कुनै नौलो भएन । तैपनि प्रायः आमा बाबाहरू नयाँ फोन चलाउन पाउँदैनन् । गाउँमा होस् या सरहमा, हुने त यस्तै नै हो । बूढापाकाहरू छोरा छोरी या नातिनातिनाको ‘जडौरी’ मै दंग पर्छन् । चाहे त्यो ‘दंग’ स्वेच्छाको होस् या बाध्यताको ।
‘फुन आउँदा यस्सो थिचेर बोल्न मिल्ने भए त भैगो नि ! हाम्लाई दुनियाँभरका महँगा फोन क्यार्न चाहियो ?’ यसै भन्छन् बाआमा ।
खासमा मैले पनि ठूलो छोरोले नयाँ फोन किनेपछि उसको पुरानो आइफोन–४ आमालाई दिएको थिएँ ।

‘ओहो यो त पुरानो भैसक्यो साने, दादाको फोन हो नि ।’
‘ल ल भयो, म आमालाई नयाँ फोन किनेर ल्याइदिन्छु । डन्ट वरी मेरै पैसाले किन्दिन्छु ।’ मलाई डायलग मार्दै साने हाँस्यो ।
साँझ सानेले एउटा फोन किनेर ल्याइदियो र आमालाई चलाउन सिकायो । एकहाते भैंसीले अरूलाई दूध नदिएझैं आइफोनमा हात बसेकी आमा ४÷५ दिनसम्म पनि त्यो फोनमा सहज हुन सक्नुभएन ।

छुट्टीको दिन थियो । आमा मेरो नजिकै आउनुभयो । म साथीसँग च्याट गरिरहेको थिएँ । आमा घोरिएर हेर्न थाल्नुभयो । ‘नानी यो तिम्रो फोनलाई कति पर्छ हँ ?’
‘किन आमा ?’
‘हैन यसै सोधेकी ।’
‘यसै त पक्कै हैन आमा । म हजुरकै छोरी हुँ । सोझी भए पनि अलिअलि त बुझ्छु नि । ल भन्नुस् के भो ? त्यो फोन चलाउन अप्ठेरो भा हो ?’
‘हो कत्ति पनि चलाउन जानिन । सानेलाई पनि कति सोध्नु, कति दुःख दिनु ? पहिलेको जस्तो आइफोन नै किन्देऊ न । बरु पैसा मै दिन्छु ।’

मैले सानेलाई यो कुरा भनेँ ।
‘त्यस्तो हुन्छ मामु, म पनि स्यामसुङबाट आइफोनमा जाँदा त्यस्तै भाथ्यो । भोलि सँगै जाम्ला र आइफोन नै किन्दिम्ला ।’
सानेले सहज बनायो । मन हलुंगो भयो ।
भोलिपल्ट सानेले हामीलाई फोनको स्टोरमा लग्यो ।

नातिले आइफोन किन्दिन्छु भनेको सुनेर आमाको अनुहारमा सिंगै जून बसेको थियो । रहरले उमेर भन्दैन रहेछ । बरु उमेरले ज्यादा सुबिस्ता खोज्दो रहेछ । आमाका लागि आइफोन रहर, आवश्यकता र सुबिस्ता तीनै कुरा थियो । हामी गाडीभित्रै थियौ । अगाडि सिटमा बाबाछोरा । पछाडि हामी तीन जना– बा, आमा र म ।

हामी कोही केही बोलिरहेका थिएनौं । तर त्यो मौनताभित्र पनि मलाई बाको मौनता भारी लाग्यो ।
मौन रहनु रहर नहुनु हो र ? बालाई पनि त त्यो पुरानो फोन फेर्ने रहर छ होला नि ? मेरो मनले मलाई चिमोटिरहेको थियो ।
‘बा हजुरको फोनचाहिँ कति पुरानो हो ?’
‘अस्ट्रेलिया जाँदा भाइले किन्दिएको हो । ठीकै छ, चलिरहेकै छ । यो भिडियो सिडियो हेर्दाचैं अल्लि ठूलोमा राम्रो देखिने रैच । काम त गरिराछ ।’

‘बाको त नयैँ हो । धेरै खर्च किन गर्ने ?’ आमा बोल्नुभो ।
थाहा थियो, मौका पाउनासाथ आमाहरूले बाहरूलाई यस्तै व्यहोरा देखाउँछन् । अगाडि सिटमा बसेका ज्वाइँ र नाति मुसुमुसु हाँस्दै थिए ।

‘मामु, इफ यु डन्ट माइन्ड म बा र आमा दुवैलाई आइफोन किन्दिम् ?’ थोरै जीबीको लिने हो भने खासै धेरै पैसा पनि पर्दैन,’ स्टोरमा पुगेपछि सानेले मलाई खुसुक्क भन्यो । ‘म मेरै कार्डबाट पे गर्छु, डन्ट वरी ।’
म बोल्न सकिनँ । मुटुमा गाँठो पर्यो । मुटुको गाँठो आँखाबाट टप्केर अरूले देख्ने पो हुन् कि भन्ने डर भयो ।

छोरोले मेरा बाआमालाई गरेको मायाले मलाई द्रवित बनायो । उसले दुइटा आइफोन किन्यो । आमालाई गुलाबी र बालाई कालो रंगको खोल पनि किन्यो । बा आमा दंग पर्नुभयो ।
दिनहरू बित्दै गए । घुम्न जाँदा पनि फोन नछोडेको देखेर एक दिन सानेले आमालाई जिस्क्यायो, ‘आमा हजुरको फोनमा नेपालकै सिमकार्ड छ कि कसो ?’
‘हैन नि सानु, फोटो खिच्न परेन त ?’
आमालाई आमाकै मोबाइलले फोटो खिच्नुपर्थ्यो ।

‘बा, हामी दिनभर घरमा हुन्नौं, हजुरहरूलाई बोर त भाछैन नि ?’ बाको नजिकै बसेर सानेले सोध्यो ।
‘भाछ नि किन नहुनु ? अरूको पो नातिनातिना साना हुँदा रैछन्, यसो पार्कतिर डोर्याउँदा रैछन् । अनि भुल्ने मेलो सजिलो हुँदो रैछ त । हाम्रो त सानो भनेकै तिमी,’ कान्छो नातिसँग बा लाडिनुभयो ।

‘ल बा अब यसो गरौं, मलाई हात समातेर पार्कतिर घुमाउन लैजानुहोस्, अनि म हजुरको काखमा बसिदिन्छु । हजुर मलाई खुवाइदिनुहोस् । भइन त म सानो ?’ सानेले उसैगरी जवाफ फर्कायो ।
यी त हाँस्ने बहाना न थिए ।

एक दिन आमालाई मैले मेसेज लेख्न सिक्नुहोस् फोन नउठ्दा सजिलो हुन्छ भनेँ । मैले फोनमा किबोर्डमै नेपाली टाइप गर्न मिल्ने बनाएर सिकाउन खोजे । तर सकिन । कति दिन भैसक्दा पनि आमालाई सिकाउन सकिनँ । ‘हा… छोड्, मर्ने बेलाँ हरियो काँक्रो । म सिधै फुन गर्नेलाई यो मेसेज सेसेज किन सिक्नुपरो ?’
आमा थाक्नुभो । मैले पनि कर गरिनँ ।

आँखा झिमिक्क गरेझैं बाआमाको एक वर्षको अमेरिका बसाइ सकियो ।

एक दिन म काममा व्यस्त भएको बेला आमाको फोन आएछ । धेरैपटक गर्दा पनि नउठेपछि आमालाई लागेछ–त्यतिखेर मेसेज सिकेको भए अहिले काम लाग्ने रैछ । बल्ल आमालाई मेरो कुराले हुटहुटी पारेछ । मैले भनेथेँ, ‘यी यसरी नेपालीमा लेख्न मिल्ने आइफोन छ । सिकाइदिने म छु । कहिलेकाहीँ जरुरी समयमा काम लाग्छ ।’

म कामबाट फर्किंदै थिएँ । आमाको फोन आयो, ‘नानी मलाई तेरो वचन गला लाग्यो । ल अब मेसेज सिकाइदे ।’
यतिखेर बा आमा फेरि अमेरिका आउनुभएको छ । ढाडको नसा च्यापिएर झन्डै थलै परेकी आमा आउन सक्नुहुन्छ जस्तो लागेकै थिएन । भनिरहनुहुन्थ्यो, ‘अमेरिकाको तेरो घर हेर्न मन छ ।’

मन यस्सै अमिलो भएर कुँडिन्थ्यो मेरो । ‘आमा यता आउनका लागि एक महिनापछि एम्बेसी जान पर्छ अन्तर्वार्ता दिन पर्छ कसरी जाने होला ? त्यसरी लठ्ठी टेकेर त दिँदैन नि भिसा । के गर्ने होला है ?’ इन्टरभ्युको डेट लिएपछि मैले आमालाई भनेँ ।
‘त्यसो भए त लठ्ठी नटेकी जान्छु नि ! सक्छु के पीरै नमान न ।’

आमाको आँट बढेको देखेर म तीनछक पर्थें । आमा उल्टे मलाई नै ढाडस दिनुहुन्थ्यो ।
बहिनीले के–के गरेर तेलले दिनको दुई पटक मालिस गराएर अनि घरैमा मान्छे बोलाएर फिजिकल थेरापी गराएपछि आमा भान्छामा चिया पकाउन सक्ने हुनुभयो ।

मान्छेको यो इच्छाशक्ति भनेको बहुत ठूलो कुरा रहेछ । मान्छेको मात्र के कुरा ? सायद हरेक प्राणी यसरी नै कुनै न कुनै इच्छाको मसिनो त्यान्द्रो पक्रेर जीवनजस्तो भीषण व्याधिसँग लड्न तम्सिरहेका हुन्छन् ।

अघिल्लोपल्ट बा आमा अमेरिका आउँदा हामी अपार्टमेन्टमा बस्थ्यौं । बाहिर हिँडडुल खासै गर्नुहुन्नथ्यो । तर अहिले सानो घर र थोरै भए पनि फूल–तरकारी रोप्ने बारी छ । दिनमा घटीमा पनि दसपल्ट जानुहुन्छ बा आमा बारीमा र बिर्सिन खोज्नुहुन्छ वाग्लेफाँटको गाउँ ।

त्यो एउटा समय थियो । गाउँमा हाम्रो सानो तर छुट्टै संसार थियो ।
टिन र ढुंगाले छाएको ३ तले घर । घरको बीचमा मूलढोका । दैलोको दुवैतिर पिँढी । एकातिरको पिँढी घुमेर पछाडिसम्मै पुगेको थियो । त्यही पिँढीको पछाडिको छेउमा ढिकी । ढिकीसँगै जाँतो । जाँतोसँगै दूध तताउने, कुँडो पकाउने अँगेनो ।
अँगेनोमा दूध उम्लेर जाला भनेर आमा चलाइरहनुहुन्थ्यो । म सानी डल्ली भुन्टुरी बेला न कुबेला फुत्त बारीमा छिरेर हरिया मकै भाँच्थेँ र भन्थेँ, ‘आमा एउटा मकै पोल्दिनू न !’

‘एउटा पोल्ने भए किन यतिका भाँचेकी त ?’ आमा सोध्नुहुन्थ्यो । तर म बोल्दिनथेँ । बरु आमा नै भन्नुहुन्थ्यो, ‘तँलाई त बिहे गरेर ऊ त्यो जिताको डाँडामा दियो भने पनि मर्दिनस् । मकै भनेपछि त मरिजान्छे ।’

ती दिनहरू सम्झिँदा अहिले मलाई लाग्छ– मानिसले यति छोटो जीवनकालमा पनि कति धेरै भूमिकाहरू निर्वाह गर्छ है । अनेक सम्बन्ध, अनेक रूप । अझ उदेकलाग्दो कुरा त के भने ती सम्बन्ध र भूमिकाहरूलाई समयले कति सजिलै पासा पल्टाएझैं पर्लक्कै पल्टाइदिँदो रहेछ ।

जतिबेला म स्यानै थिएँ, मलाई अझै सम्झना छ– एकहाते भैंसीले दूध नदिएर पिँढीमा टुसुक्क बस्न आइपुग्नुभएको बाको निन्याउरो अनुहार । धन्सारबाट दाउरा लिएर आउनुभएको आमाले आत्तिँदै भुइँमा दाउरा भ्यात्त फालेर मेरो हात समाउँदै भन्नुभएथ्यो, ‘के भो नानी ? केले टोक्यो ? बारीमा कीरा हुन्छन्, सर्प आउँछ । सानो मान्छे यसरी झाडीमा जानुहुन्न नि ।’
त्यतिबेला मैले जामाको एकछेउले आँसु पुछ्दै भनेकी थिएँ, ‘झुसिलकिरो बिझ्यो ।’

आमा हृदयले ममता र हातले घिउकुमारी दलिदिँदै भन्नुभएको थियो, ‘हेरहेर बारीमा नजा भन्यो, मान्ने हैन ।’
अहिले आएर समयले एक सय असी डिग्रीमा आफ्नो नयाँ अवतार देखाइरहेको छ । काममा निस्कनुअघि म आमालाई भनिरहेको हुन्छु, ‘धेरै पर नजानू है, समस्या होला ।’
आज म, मेरी आमालाई म स्यानी हुँदा आमाको आँगनमा उफ्रेझैं आफ्नो हृदयको बगैंचामा निर्बाध उफ्रिन छोडिरहेको छु । कहिले आमा फूल टिप्नुहुन्छ । कहिले ममताको धागोमा हामी चारै सन्तानलाई उनेझैं तिनै फूलको माला उन्नुहुन्छ । गोडमेल गर्दा गर्दै फूलको डाली भाँच्नुहुन्छ । अनि डराउनुहुन्छ सानो बेलामा म डराएजस्तै ।

म आमालाई हृदयको भित्री कुनादेखि नै आश्वस्त पार्न खोज्छु, ‘आमा ! मेरी आमा ! फुट्ने कुरा फुट्छन् । भाँचिने कुरा भाँचिन्छन् । किन आत्तिनु ? त्यसको आयु त्यत्ति रहेछ सकियो नि ।’
मेरा कुराले आमको मन हर्षविभोर भएको म उहाँको उन्मुक्त हाँसोबाट प्रस्टै चाल पाउँछु ।

म मनमनै आफैंलाई भनिरहेकी हुन्छु, ‘आमा यतिखेर म हजुरकी आमा भएकी छु । खेल्नुहोस् । निर्बाध रमाउनुहोस् । आज म हजुरलाई हेरेर मेरो आफ्नै बाल्यकाल अनुभूत गर्न चाहन्छु ।’

साँच्चै समयले आज मलाई आमाकी छोरी र छोराहरूकी आमाबाट आफ्नै आमाकी आमा बनाएको छ ।
मलाई राम्रै हेक्का छ– ती दिनहरू गए । आज यी दिनहरू आए । भोलि यी दिनहरू पनि जानेछन् । हामी कुनै विरानो गन्तव्यका अज्ञात यात्रीझैं हुनेछौं ।

तर जतिन्जेल हामी सबै यहाँ छौं म सबै सम्बन्धहरूलाई एकै अँगालोमा अनुभूत गर्न चाहन्छु । अझ मातृत्वको व्यापकतामा आफैंलाई हराउन चाहन्छु । संसारलाई आमाको रूपमा हेर्न चाहन्छु । आफूलाई संसारकै आमा भएर हेरिन चाहन्छु । ठीक त्यसरी नै जसरी श्रीकृष्णले गीतामा नारीका रूपहरूमध्ये कीर्ति, समृद्धि, मधुर वाणी, स्मृति, बुद्धि, साहस र क्षमा, यी सबै म स्वयं हुँ भनेर अर्थ्याउनुभएको छ (कीर्तिःश्रीर्वाक्च नारीणां स्मृतिर्मेधा धृतिः क्षमा) ।

यसो भनिरहँदा म ती सारा आमा बाबाप्रति द्रवित हुन्छु जसका सन्तान आज सँगै छैनन् । अथवा सँगै भएर पनि सँगै नभएसरह छन्। आमालाई जस्तो पीर कसलाई हुँदो हो ? सन्तानको पीर सबै आफैं बोक्न खोज्छिन् । सबै दुःख एक्लै मेटाउन खोज्छिन् । म यसो बाहिर निस्किन लाग्यो भने अहिले पनि मभन्दा पहिले आमा टप्किनुहुन्छ र भन्नुहुन्छ, ‘म पनि जान्छु नि ।’

‘आमा म खत्र्याक खुत्रुक सामान जान लागेको । अलिकति हिँड्नु पनि पर्छ । हजुरलाई गाह्रो हुन्छ नि । म आइहाल्छु नि ।’
आमा केही नसुनेझैँ ढोकाबाहिर भर्याङको सिँढीमा उभिनुहुन्छ र भन्नुहुन्छ– ‘मलाई नलाने भए एउटा श्लोक भन्छु सुन्– ‘एकछिन नदेख्दा पनि आत्तिएर रुन्छु म मेरी छोरी भनेर ।’

यस्तोमा म आमालाई नाँघेर कसरी अघि बढ्न सक्छु ? बरु बालाई पनि सँगै लिएर बाहिर निस्किन्छु । मेरो मन भरिन्छ आखा रसाउँछ । तर आमा खिइएर मुसाका जस्ता भैसकेका दाँत देखाएर निश्चल हासो हाँस्नुहुन्छ । बाका दाँत नहाँसे पनि आँत हाँसेको म प्रस्टै देख्छु ।

तैपनि मेरो मन भित्रभित्रै कोक्किइरहन्छ– के आज संसारभरिका बा आमा यसरी नै उन्मुक्त हाँसो हाँस्न सक्छन् ? त्यो दिन यो सिंगो धर्ती कति जगमगाउँदो हो जुन दिन कुनै पनि बा आमाका आँखा नरसाएका होऊन् ।

३ भाद्र २०७९, शुक्रबार २०:५३ मा प्रकाशित
Nabintech