पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विषयगत समितिमा सदस्य तोकिएका छन् ।
मेयर आचार्यलाई संघ प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ को उपदफा (१) (ग) बमोजिमको स्थानीय तह तर्फको विषयगत समितिको सदस्य पदमा नेपाल सरकार (माननीय मन्त्री स्तरीय) को यही १ साउनको निर्णय अनुसार बुधबार सदस्य तोकिएको हो ।
मन्त्रालयको नीतिगत छलफल हुने समितिमा मेयर आचार्य देशभरका ७५३ वटै स्थानीय तहको तर्फबाट सदस्य तोकिएका हुन् । संघीय पर्यटन मन्त्रीको अध्यक्षता रहने समितिमा सात वटै प्रदेशका पर्यटनमन्त्री सदस्य रहने व्यवस्था छ । पर्यटन मन्त्रालयका सहसचिव यसको सदस्य सचिवको रुपमा रहन्छन ।
पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयरीमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पोखराका मेयर आचार्यलाई विषयगत समिति सदस्य तोक्नुले पर्यटकीय सहर पोखरालाई महत्व दिएको मानिएको छ ।
उनले पर्यटन मन्त्रालय र मन्त्री प्रति आभार प्रकट गर्दै पोखरालाई छिट्टै पर्यटकीय राजधानी घोषणा गरिने विश्वास समेत प्रकट गरेका छन् । ‘हामीले पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि निर्णय गरेर ताकेता गरिरहेका छौं ।