Play

पत्रकार बास्तोलालाई श्रीपति पत्रकारिता र पदम भुवनेश्वरी वृद्ध सेवाश्रमलाई श्रीपति समाजसेवा पुरस्कार

गुरुकुल खबर


पोखरा, २८ असार । श्रीपति कोइराला गुठी पोखराले यसैबर्ष स्थापना गरेको श्रीपति सामाजिक पत्रकारिता पुरस्कारबाट आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोलालाई सम्मान गरिने भएको छ ।

यसैगरी गुठीबाट संचालित श्रीपति समाजसेवा पुरस्कार–२०७९ सर्लाहीको लालबन्दी नगरपालिका–२ जुटपानीस्थित पदम भुवनेश्वरी नमुना वृद्ध सेवाश्रमलाई प्रदान गरिने भएको छ ।

गुठीले ११५ औं श्रीपति जयन्ती अवसरमा सोमबार आयोजित कार्यक्रममा उक्त घोषणा गरेको हो । पुरस्कार घोषणा गर्दै गुठीका अध्यक्ष लक्ष्मण कोइरालाले पुरस्कार गुठीको ३० औं वार्षिक साधारणसभामा प्रदान गरिने जानकारी दिए ।

श्रीपति सामाजिक पत्रकारिता पुरस्कारको राशि २२ हजार २ सय २२ र सम्मानपत्र छ । समाज परिवर्तन, सामाजिक जागरण, समाजिक गतिविधि उजागर गर्ने पत्रकारलाई प्रदान गरिने प्रदेशस्तरीय यो पुरस्कार यसै वर्षदेखि सुरु गरिएको हो ।

श्रीपति समाजसेवा पुरस्कारको राशि २ लाख २२ हजार २ सय २२ र सम्मानपत्र रहेको छ । यसअघि उक्त पुरस्कारबाट अनुराधा कोइरालाद्वारा स्थापित माइती नेपाल र महावीर पुनबाट स्थापित राष्ट्रिय आविष्कार केन्द्र काठमाडौं सम्मानित भैसकेका छन् ।

सर्लाहीको पद्म भुवनेश्वरी नमुना वृद्ध सेवाश्रम लामो समयदेखि ज्येष्ठ नागरिक तथा अशक्त, असहाय एवं वेवारिसे नागरिकको सेवामा समर्पित छ । यस्तै, पत्रकार कृष्णप्रसाद बास्तोला ४२ वर्षदेखि पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील छन् । विभिन्न सामाजिक संस्थामा पनि आवद्ध उनी स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष हुन् ।

श्रीपति कोइरालाको प्रतिमामा माल्र्यापण गरी सुरु ११५ औं श्रीपति जयन्ती कार्यक्रममा पुरस्कार छनोट समिति संयोजक प्राडा दिलबहादुर क्षत्रीले श्रीपतिको योगदानको चर्चा गर्दै पुरस्कारको लागि छनोट भएका संस्था र व्यक्तिबारे संक्षिप्त जानकारी गराएका थिए ।

गुठी अध्यक्ष लक्ष्मण कोइरालाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष फणीन्द्रराज कोइरालाले स्वागत तथा सचिव नव राज कोइरालाले सञ्चालन गरेका थिए । विस ं १९९० को आसपासमा विभिन्न स्थानमा पाटी पौवा स्थापना गरी सामाजिक क्षेत्रमा अतुलनीय योगदान पु¥याएका श्रीपति कोइरालाको स्मृतिमा २०४९ सालमा स्थापित श्रीपति कोइराला गुठी पोखराले पुरस्कार तथा छात्रवृत्ति लगायत विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ ।

२८ असार २०७९, मंगलवार २१:०३ मा प्रकाशित
Nabintech