काठमाडौं । राष्ट्रियसभा सदस्यमा डा.खिमलाल देवकोटा विजयी भएका छन् । उनले निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उमेद्वार रामबहादुर थापा ‘बादल’लाई हराएका छन् । डा.देवकोटाले पाँचहजार ८८ मतभार पाएका थिए भने बादलले चारहजार १४ मत प्राप्त गरेका थिए ।
राष्ट्रिय सभामा बिजयी देवकोटा कास्की जिल्लाको चापाकोटमा जन्मिएका हुन । उनि स्थानीय चापाकोट प्राविमा कक्षा ५ सम्मको अध्ययन गरेपछि बुवा आमा संगै बसाई सराई गरेर बारा जिल्लामा पुगेका थिए । त्यसपछि बारामा आफ्नो अध्ययनलाई निरन्तरता दिएका उनले संघीय अर्थनीति व्यवस्थापनमा नेपाल बाहिरबाट पिएचडी गरेका थिए । कास्की चापाकोट घर भई हाल पोखरामा बस्दै आएका नेपाल सरकारका उपसचिव समेत रहेका लक्ष्मण देवकोटाका अनुसार हाल खिमलाल ललितपुरमा र उनका बुवा आमा बारामा नै बस्दै आएका छन ।
प्रदेश सरकार बनेपछि बाग्मती प्रदेशको योजना आयोगको उपाध्यक्ष बनेका देवकोटाले प्रदेश सरकारसंग काममा तालमेल नमिलेको भन्दै केही समय अगाडी उक्त पदबाट राजिनामा दिंएका थिए । विधार्थीकाल देखि नै बामपन्थी बिचारधारा बोकेका उनि नेकपा एमालेमा माधव नेपाल समुह निकट मानिन्थे । उनलाई माधव नेपाल समुहबाट उमेदवार बनाईएको भएपनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधव नेपाल तथा झलनाथ खनाल समूहको समर्थन रहेको थियो ।
हिजो मात्रै निर्वाचन आचारसंहित उल्लंघन गर्दै प्रधानमन्त्री खड्गप्रसाद ओलीले एमालेका तर्फबाट उमेद्वार भएका बादललाई मतदान गर्न आह्वान गरेका थिए ।
पछिल्लो समय माधव नेपाल तथा झलनाथ खनाल समूहलाई प्रधानमन्त्री ओलीले कारवाही फुकुवा गरेर पार्टी भित्र सहज वातावरण बनाए पनि यस अघि नै उमेद्वारी घोषणा भएको अवस्थामा प्रधानमन्त्रीको आह्वानलाई एमालेका जनप्रतिनिधिहरुले नै उल्लंघन गर्न पुगे । बादलले माओवादी केन्द्र छाडेर एमालेमा त्यो पनि ओली पक्षमा प्रवेश गरेका थिए । बादलको पराजयले प्रधानमन्त्री ओलीलाई समेत कमजोर तुल्याई दिएको छ ।आजै सर्वोच्च अदालतले बादललाई मन्त्रीबाट पनि पदमुक्त गरेसँगै यो पराजयले अर्को झट्का लागेको छ ।
हेटौँडा उपमहानगरपालिका– ४ स्थित भुटनदेवी माविमा आज भएको मतदानमा तीन सय ४७ मतदातामध्ये तीन सय ३७ मत खसेको थियो । स्थानीय तहबाट दुई सय ३८ मतदातामा दुई सय ३२ मत खसेको थियो । जसमा ६ जना अनुपस्थित रहेका थिए । त्यस्तै प्रदेश सभाबाट एक सय नौजना मतदाता रहेकोमा एक सय पाँचजना मात्र उपस्थित थिए । माओवादी केन्द्रका एक सांसद र विवेवशील साझा पार्टीका तीन सांसद अनुपस्थित भएका थिए । जसमा विवेकशील साझाले आफ्नो सहभागिता नरहने जनाएको थियो ।