Trulli
गण्डकी प्रदेशविचार/अन्तरवार्ताव्यक्ति/संस्थाशिक्षा/स्वास्थ्य

कोरोना कहर र आईसोलेशनमा मेरो २५ दिन

नागरिकलाई जोगाउन पैसा छैन भन्ने सरकारले चुनावको नाममा किन अरबौ रुपैया खर्च गर्ने ?

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण म पनि अछुतो रहन सकिन । गत बैशाख १४ गते मलाई हल्का ज्वरो आएको  थियो ।ज्वरो संगै हल्का खोकी , शरिरमा थकान महशुस भैरहंदा पनि ख़ासै वास्ता गरिन । मन मनै सम्झिएं , घरायसी कामका कारण केही थकाई र मौसमी परिवर्तनले पो होला ।  तर जव साँझ पर्दै गयो, फेरी हल्का ज्वरो आउने , टाउको दुख्ने हुन लागेपछि मन मनै कुरा खेल्न लाग्यो , कतै म मा पनि कोरोना संक्रमण पो भयो कि भनेर ।
मनमा कोरोना संक्रमणको संभावना हो कि भन्ने लागेपछि मैले आंफै आईसोलेशनमा बस्ने निधो गरें । यस बिचमा श्रीमान सहित परिवारका सदस्यहरुलाई सामान्य जानकारी पनि गराईसकेकी थिएं । एकांतिर कोरोनाका कारण आईसोलेशनमा बस्ने निधो गर्नु , अर्कों तिर त्यही दिनबाट टाउको र शरिर दुख्ने र ज्वरो आउने क्रम निकै बढ्नुले मात्र नभएर श्वास प्रश्वास प्रक्रियामा समेत कठिनाई हुंदै गएपछि मैले आंफुलाई पक्कै कोरोना संक्रमण भएको हुनुपर्छ भन्ने सोचेर त्यही अनुसारको सजगता अपनाउन थालें ।
घरमा श्रीमान, आमा र दुई छोरीहरु मात्र रहेकोले घरायसी काम गर्नुपर्ने मेरो बाध्यता समेत त्यही दिन बाट अन्त्य गरे , श्रीमान र आमाले नै घरमा गर्नुपर्ने काम मात्र नभएर आईसोलेशनमा बसेको मलाई आवश्यक पर्ने औषधि र खानेकुराको समेत प्रवन्ध गर्नुभयो । नियमित रुपमा घरको काम गर्ने बानी परेकी मलाई आईसोलेशनमा बस्न लागेपछि कुनै काम गर्नुपरेन तर हरेक दिन टाउको र शरिरको दुखाई बढ्दै जाने , श्वास फेर्न गार्हो हुने र शुरुआतको ३/४ दिनसम्म त ज्वरो पनि नियमित आइरहंदा निकै अप्ठेरो महशुस भएको थियो ।
कोरोनाको प्राथमिक उपचारका लागि आवश्यक पर्ने सामानहरु र औषधिहरु घरमा व्यवस्था गरेको कारंण पटक पटक अक्सिजन लेवल नाप्ने , ज्वरो नाप्ने जस्तो काम गरिरहन्थें नै । अक्सिजन लेवल घटेमा अस्पताल जानुपर्छ भन्ने कुरा पनि थाहा थियो तर मलाई श्वास फेर्न निकै गार्हो भएपनि अक्सिजन लेभल नघटेको कारण सकेसम्म अस्पताल जान नपरेहुन्थ्यो भन्ने मेरो सोचाईलाई मद्दत पुगेको थियो । म जेनतेन घरमै बसेर र आवश्यक साबधानी अपनाएर अनि मनोबल कमजोर नपारिकन कोरोनावाट मुक्त हुन्छु भन्ने सोचिरहेकी थिए र त्यही अनुसार नै आत्मबल पनि दर्हो पारेर बसेकी थिएं ।
मलाई लाग्छ , शुरुआतको १० दिन मेरो लागि अत्यन्त कष्टप्रद रुपमा रहे , बेलुका सुतेपनि रात भर निद्रा नलाग्ने, शरिर दुखिरहने , श्वास फेर्न कठिन हुने जस्ता जटिल समस्या परिवारका सदस्यहरुलाई सुनाएर वहाहरुलाई पनि तनावमा पार्न मलाई त्यती मन लागेन तर पनि आंफुले त सबैकुरा भोगिरहेकी थिएं । दंश दिन सम्मको त्यो कठिन अवस्था मैले अहिले पनि अनुभुती मात्र गरेकी छु तर त्यसलाई कसरी शब्दमा वर्णन गरू जस्तो लाग्छ ।ति दिनहरुमा शरिर अत्यन्त कमजोर भएर आंफु सुन्यमा भएजस्तो लाग्ने , कसैसंग बोल्न मन नलाग्ने , कसैको फ़ोन आउंदा पनि झर्को लागेर उठाउन मन नलाग्ने र आफ्नो पिडा भोगाई संगै आंखाबाट आंशु पनि बगिरहने स्थिति मैले ब्यहोर्नुपर्यो । तर पनि अरुको अगाडी मैले आंफुलाई ठिक रहेको र सुधार हुंदै गरेको भन्ने देखाउन निरन्तर प्रयास गरिरहें
आईसोलेशनमा बस्नु अगाडी मेरो माईतीघरमा बैशाख १८ गते  भाई सरोजको वैवाहिक कार्यक्रममा रमाउने लक्ष्य हाम्रो परिवार र छोरीहरुको पनि थियो । छोरीहरु मामाको बिहेमा रमाईलो गर्ने भनेर केही साता अगाडी बाट नै योजना बनाईरहेका थिए । तर अफशोच बैशाख १४ गतेबाट मलाई देखिएको त्यो लक्षणका कारण पिसिआर टेष्ट नगरेको र कोरोना संक्रमण पुष्टि नभएपनि हामी कोही बैबाहिक कार्यक्रममा सहभागी भएनौ , बिबाहको दिनमा त अझ धेरैले फ़ोन गरिरहनुभएको थियो तर म भने फ़ोन रिसिभ समेत गर्न नसक्ने अवस्थामा पुगेकी थिएं । हुन त कोरोनाको लक्षणहरु मलाई मात्र देखिएका थिए त्यसैले परिवारका अरु सदस्यहरु विवाहमा आए हुन्छ भन्नेहरु पनि थिए तर हामी कोही पनि वैवाहिक कार्यक्रममा गएनौ र सौभाग्य नै भन्नुपर्छ विवाहमा उल्लेखनीय उपस्थिति भएपनि त्यहा पुगेका हरुलाई त्यसपछि पनि कोरोनाको कुनै लक्षण देखिएको छैन रे ।
मैले आंफुलाई कोरोना संक्रमण भएको भएपनि म बाट अरुलाई नसरोस भनेर सकेसम्म सजगता अपनाईरहें , छुट्टै कोठामा बस्ने , डबल मास्क लगाउने र डाक्टरको सल्लाह अनुसार औषधी लगायत अन्य खानेकुरा सेवन गर्ने कुरालाई हेलचेक्र्याई गरिन । यसरी आईसोलेशनमा बसेको दंश दिन पछि भने मलाई केही सहज महशुस भयो । तर शरिरमा थकान हो वा कमजोरी निरन्तर रहिरह्ये , जसले गर्दा शरिर उठाउन समेत नसकेर बेडमा सुतिरहने स्थिति क़ायम रह्ये भने श्वास फेर्दा पनि घांटीमा केही आएर रोके जस्तो अनुभव भैरहेको थियो ।
१२ दिनमा अलि सहज महशुस गरेकोले पिसिआर टेष्ट गरियो तर पनि पोजिटिभ नै आएपछि आईसोलेशनमा बस्ने कुरालाई निरन्तरता दिएं । यस बाहेक दिनहु योगा गर्ने , प्रशस्त पानी पिउने , गरिरहें अनि परिवारका अरु सदस्यलाई पनि सर्छ कि भनेर आंफु भने आईसोलेशनमा नै बसिरहें । २४ दिन सम्मको बसाई पछि आज ज्येष्ठ ८ गते शनिवार गरिएको पिसिआर परिक्षण पछि भने मेरो रिपोर्ट नेगेटिव आएको छ अर्थात् म कोरोना मुक्त भएको प्रमाणित भएको छ ।
यस अवधिमा मलाई घरमा राम्रो व्यवहार र सेवा गर्ने श्रीमान प्रदिप र आमा सहित परिवारका सदस्यहरु प्रति कृतज्ञ छु । साना छोरीहरु आज्ञाकारी बनेर बसेको कारण परिवारका सबैमा कोरोना संक्रमण हुन पाएन तर जेठी छोरी मेलिसालाई भने लक्षण देखिएर पिसिआर गर्दा पोजिटिभ देखिएपनि हाल सम्म स्वास्थ्य अवस्था त्यस्तो गंभीर देखिएको छैन , यसले म सहित परिवारजनमा थोरै भए पनि सन्तोष मिलेको छ ।
मेरो स्वास्थ्य प्रति चिन्ता र चासो राख्ने , स्वास्थ्य लाभको कामना गर्ने मेरो बुवा आमा दाजु दिदी लगायत सबै आफन्तजनमा आभार प्रकट गर्दछु साथै मेरो श्रीमानले सम्पर्क गरेको समयमा सहि सल्लाह र सुझाव र स्वास्थ्य परामर्श दिने डा मनोज कोइराला सहित सबै धन्यबादका पात्र हुनुहन्छ ।
कोरोना केही हैन भन्नेहरु हामी आंफै पनि हौ तर कोरोनाको असर आंफैले नभोग्दा सम्म त्यसबाट हुने दुख कष्ट थाहा नपाउने र अनुभुती समेत नगर्ने हाम्रो सोचाईलाई परिवर्तन गर्नु जरुरी छ , यस बाहेक कोरोना भन्ने बित्तिकै अब बांच्ने संभावना छैन , तुरुन्त मरिन्छ भन्ने खालको सोचाई पनि त्यागेर आफ्नो मनोबल उच्च राख्ने र स्वास्थ्यका सबैखाले साबधानी अपनाउने हो भने केही जटिल केश बाहेक कोरोनालाई पराजित गर्न सकिने कुरामा दुईमत छैन ।
अन्तिममा , अहिले देशमा कोरोनाको महामारी छ । दिनहु ८/१० हज़ार मानिस कोरोनाबाट संक्रमित भैरहेका छन भने झण्डै २ सयको हाराहारीमा मानिसहरुको मृत्यु भैरहेको छ । सरकारले नागरिकहरुको लागि ल्याउने भनेको खोप समेत समयमा ल्याउन नसक्दा र त्यसमाथी कमिशन र भ्रष्टाचारका कुरा मात्र सुन्नुपर्दा नेपालीहरु निकै पिडामा छन ।
न त पूर्व तयारी ,न त स्वास्थ्य सामग्री र उपकरण वा न त खोप सेवा नै , यस्तो कुनै काम गर्न नसक्ने र पिसिआर टेष्ट समेत निःशुल्क गर्न नसक्ने सरकारका कारण बिरामीहरु लाखों रुपैया खर्च गरेर पनि जिवन र मरणको दोसांधमा अस्पतालका बेडमा र घरमा नै पनि बस्न बाध्य छन ।
बिरामीले पैसा तिरेर पनि अस्पतालमा बेड र अक्सिजन नपाईरहेको यो अवस्थामा केपी ओली नेतृत्वको वर्तमान सरकार ४०/५० अरब खर्च गरेर चुनावमा जाने कुरा गर्दैछ । यो महामारीबाट नागरिकलाई जोगाउन पैसा छैन भन्ने सरकारले किन अरबौ रुपैया चुनावको नाममा खर्च गर्न खोजेको छ भन्ने कुरा बुझिनसक्नु छ । त्यसमाथी यस्तो महामारिमा चुनाव पनि कसरी संभव होला भन्ने प्रश्न सबैतिरबाट उब्जिरहेको छ ।
त्यसैले सबै जना सजग रहौं , सुरक्षित रहौं , कोरोनाबाट सम्भव भए सम्म बचौं ।
पोखरा -०७ रत्नचोक
Trulli

Related Articles

प्रतिक्रिया लेख्नुहोस्

Back to top button