Trulli
Breaking Newsगण्डकी प्रदेशराजनीतिविशेषसमाचार

सिकन्दर ! तिम्रो हात त बचाएका थियौं तर तिमीलाई बचाउन सकिएन

 –  डा.वुद्वि बहादुर थापा

 

तिम्रो उपचारमा आजीवन संलग्न भए तापनि समय र परिस्थितिले तिम्रो जीवनको अन्तिम घडीमा म सरिक हुन सकिनँ । अस्ति मात्र हाम्रो धार्मिक परम्परा अनुसार तिम्रो घर भेटी लिएर गएको थिएँ । शोकाकुल अवस्थामा रहेकी बहिनीलाई भेटँे । अन्य इस्टमित्रहरुसँग पनि भेट भयो । घर पस्नेबित्तिकै र माथिल्लो तलामा तिम्रो उज्यालो भर्खरै दाइ भन्दै बोलाउला जस्तै अनुहार हेर्दा आजभन्दा ३५ वर्षको तिम्रो र मेरो भेट भाको अतीतको त्यो रातको मलाई सम्झना भयो ।

२०४२ सालतिरको कुरा हो, म भर्खर एमबीबीएससकेर सर्जरी विभागमा मेडिसिन अधिकृत भई असिस्टेन्ट सर्जन रुपमा कार्यरत थिए । डा. साधुराम पाण्डे मेरो गुरु अग्रज सर्जन भर्खरै मात्र चण्डीगढबाट एमएस गरेर आई यहाँ कार्यरत हुनुहुन्थ्यो । त्यतिबेलाको सम्झना गर्दा र हालको अवस्था हेर्दा मलाई अचम्म लाग्छ । सधँै २४ सै घण्टा ड्युटीमा रहन्थे । राति वार्डबाट बोलाउन कार्यालय सहयोगी कहिले त सिष्टर नै क्वाटरमा आउनुपर्ने हुन्थ्यो । अहिले जस्तो फोन थिएन । मोवाइलको त कुरै नगरांै । बेहोस पार्नको लागि इथर ग्याँस प्रयोग गर्नुपर्ने हुन्थ्यो । बेहोस गर्ने काम डाक्टरबाट नभई सिस्टर र कार्यालय सहयोगीबाट हुन्थ्यो । म दिनभरिको ड्युटीपछि राती सधँै अनकल ड्युटीमा हुन्थेँ । त्यो दिन राती तिमी सल्यानबाट आफ्नो पुर्खौली घर भदौरेतामाङ्गी आउँदै गर्दा बाटोमा तिमीमाथि साङ्घातिक आक्रमण भएछ । हालको जस्तो यातायात सुविधा नभएको हुँदा त्यतिखेर फेदीसम्म मात्रै गाडी चल्थे, त्यो पनि प्राइभेट । इमजेन्सीबाट कल आयो, म तुरुन्तै त्यहाँ पुगेँ । तिम्रो त्यो गम्भीर अवस्था देख्दा एकछिन आत्तिएँ र आवश्यक व्यवस्थापन गरी वार्डमा भर्ना गरे । त्यो छिया–छिया भएको हात सम्झँदै म मेरो अग्रज सर्जन डा. साधुराम पाण्डेको क्वाटरमा गएँ । साँझ इमरजेन्सी र वार्डका बिरामीहरुको राउण्ड गरी उहाँलाई घरमा खबर गर्ने त मेरो दैनिकी नै थियो । तिम्रो अवस्थाबारे उहाँलाई मेडिकल भाषामा वृतान्त बुझाएपछि अपरेसन कोठामै सबै निर्णय गरौँला भन्दै हामी त्यसतर्फ लाग्यौँ ।

अहिलेको स्वीकृत पाँच सय शैयाको अस्पतालमा तीन सय ७० बेड चालु अवस्थामा छ । त्यो बेला त जम्मा ५० शैयाको गण्डकी अञ्चल अस्पताल थियो । सर्जिकल, अर्थो, इएनटी, अपरेसन थिएटर सबै भुइँ तलामा थिए । जहाँ अहिले अर्थो वार्ड छ । अपरेसन कोठामा तिमीलाई हेरेर कसरी अगाडि बढ्ने निर्णय गर्न नै गाह्रो भइसकेको थियो । हातको अघिल्लो भागको मांसपेशी, स्नायु र रक्तनली कती क्षतविच्छेद भएका छन छुट्याउनै गाह्रो भइरहेको थियो । आँैलाहरु रक्तसञ्चार नभएर नीला र चिसा हुन लागेका थिए । एकछिनको प्रयासपछि सुधार हुने अवस्था नदेखेपछि डा. पाण्डेले कुहिनुमुनिवाट हात काट्ने विचार लिनु भयो । यो सुनेर म एकदम दुखित भएँ । भर्खरको यो खाइलाग्दो उमेरमा हात काटेपछि बाँकी जीवन कसरी धान्ने भन्ने सोचले मलाई पोलिरह्यो । डराइ–डराइ भनेँ, ‘भर्खरको युवक छ, प्रयास गरौँ । काट्नै परे भोलि सोचाँैला ।’
रातभरको प्रयासपछि अपरेसन सकियो । भोलिपल्ट बिहानै वार्डको राउन्ड जाँदा सबभन्दा पहिला तिमी भएका ठाउँमा गयौँ । औँलाहरु हे¥यौ नीलो रंग हराएको थियो । औँलाहरु पनि अलि–अलि चल्न थालेकोले हाम्रो खुसीको सिमाना रहेन । त्यो बेलाको परिस्थितिमा यो हाम्रो ठूलो सफलता थियो । तिमीलाई धेरै माया गर्ने सर्जिकल वार्डको सिस्टर सरिता गुरुङ दिदी र फिजियोथेरापी विभागका विजय प्रधान सर पनि खुसी हुनुभयो । तिम्रो हातको चोट र घाउ यति गहिरो र गम्भीर थियो कि यसले तिमीलाई दिएको असह्य पीडा र दुखाइ हामी अनुभव गर्दथ्यौँ । राउन्डपछि घाउको ड्रेसिङ र औँलाहरुको फिजियोथेरापी गर्दा तिमी जस्तो बहादुर युवक पनि धुरुधुरु रुँदै बिलौना गर्दै हुन्थ्याँै । त्यतिखेर दुखाइ कम गर्ने राम्रो औषधीका पनि कमी थियो । हामीले दुखाइ कम गर्न दिएको औषधी (डाइजेपाम, फौर्टविन र प्याथिडिन) जस्ता औषधीले तिम्रो दुखाइ कम त गथ्र्यो साथै लठ्ठयाउँथ्यो पनि । त्यसकारण अस्पतालबाट डिस्चार्ज भएपछि पनि यी औषधिहरुको प्रयोग गर्नुपर्ने बाध्यता भएको हामीलाई मात्रै थाहा छ ।

त्यतिखेर म मुस्ताङ अस्पताल जोमसोमबाट पोखरामा काजमा आएको थिएँ । एसएलसीपछि विज्ञान विषय पढ्न काठमाडौं अमृत साइन्स क्याम्पस गएको हुँदा यहाँ पोखरामा धेरै जनासँग चिनजान पनि थिएन । तिमीलाई भेट्न आउनेहरुमा विभिन्न क्षेत्रका राजनीतिकर्मी, विद्यार्थी, पत्रकार र समाजसेवी हुनुहुन्थ्यो भन्ने सुनेको थिएँ । मेरो मानसपटलमा कता–कता नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति शुक्रराज शर्मा र पूर्व सभामुख तारानाथ आउनुभएको लाग्थ्यो ।
त्यसपछि बाँकी समय गुज्रँदै गयो । बेला–बेलामा आक्कल–झुक्कल तिमीसँग भेट हुन्थ्यो नै । जुनियरै भए पनि म परेँ व्यस्त चिकित्सक । पोखरादेखि हरेक हप्ता शनिबार शिविर गर्न आफ्नो जन्मथलो दुलेगाँैडा जानुपर्ने ,

                                                         स्व. भोजबहादुर गुरुङ (सिकन्दर )

एकपटकको घटना हो, क्षेत्रीय अस्पतालको आकस्मिक विभागमा झाडावान्ता सन्चो नभएपछि तिमीले रिसाएर म आएर औषधीको सामान्य हेरफेरपछि तिमी ठिक भएका थियौ । अहिले सोच्दा यो भर्खर भएजस्तो लाग्छ । जागिरको सिलसिलामा स्वास्थ्य शिविर गर्ने क्रममा म धेरै पटक सल्यान र पर्वतको ठाँटीपोखरी हुँदै तिम्रो गाउँ भदौरेतामाङ्गी पुगेको छु । एक दुईपटक त भदौरेमा बास पनि बसेको छु । त्यतिबेला म सधैँ तिमीलाई याद गर्दै छरछिमेकलाई तिम्रोबारे सोध्ने गर्थेँ ।

मैले मेडिसिन विषयमा एमडी गरेर आएपछि क्षेत्रीय अस्पताल बाहेकको समय पोखरा सृजनाचोकमा फेवा सिटी अस्पतालमा समय बित्न थाल्यो । बिस्तारै फेवा सिटी अस्पताल पनि व्यस्त हुँदै गयो । केही दिनपछि जीवन धान्न व्यवसाय गर्ने क्रममा तिमी फेवासिटी अस्पतालसँगै जोडेर फेवासिटी रेष्टुरेन्ट चलाउन थाल्यौ । साथै फूलहरुको व्यवसाय नर्सरी गर्न थाल्यो । त्यतिखेर हाम्रो दिनहँुजसो भेट हुन्थ्यो । तिम्रो गाउँतिरका र तिम्रो चिनजानका थुप्रै बिरामीहरु मैले जाँच्नु पर्ने हुन्थ्यो । विभिन्न राजनीतिक पार्टीका नेता कार्यकर्ता र समाजसेवीको भेटघाटस्थल थियो, त्यो रेष्टुराँ ।

एकपटक भूतपूर्व प्रधानमन्त्री तथा नेपाली काँगे्रस सभापति शेरबहादुर देउवा पनि घरमै आयजस्तो लाग्छ । तिम्रो सामाजिक, राजनीतिक घरायसी पाटो आफ्नै तरिकाले चल्दै थियो । हामी दुईबीचमा दाजुभाइको सुमधुर सम्बन्ध थियो । तिमी मलाई (डाक्टर दाइ) भनेर बोलाउँथ्यौ । म तिमीलाई सधैँ आहार–विहार खानपानमा ध्यान दिन सुझाव दिन्थेँ । बुहारी पनि सधैँ चिन्तित रहन्थिन्, तिम्रो स्वास्थ्यबारे । समयकाल बित्दै गयो । समय पनि कति छिटो बित्दो रहेछ । पोहोर सालमात्र तिमी सिकिस्त बिरामी भयौ । तिमीलाई गम्भीर प्रकारको रक्तश्राव भयो । वान्ता र दिसाबाट रगत बग्न थाल्यो । खाद्यनलीको तल्लो भागबाट नशा फुटी रक्तश्राव भएको थियो । त्यो दिन राती गण्डकी मेडिकल कलेजको आईसीयूमा भर्ना गरी भोलिपल्टै काठमाडौं नर्भिक अस्पताल कलेजो रोग विशेषज्ञ डा. सुधाषु केसीले इन्डोस्कोपी मार्फत फुटेको नशा बाँधेर अन्य थप उपचार कलेजो प्रत्यारोपणका लागि दिल्ली जाने सल्लाह दिनुभयो । त्यसपछि तिमी पोखरा आयौ । थप सल्लाह र अन्य व्यवस्थाको लागि त्यतिबेला पोखराका अग्रज समाजसेवी वुद्धिजीवी र राजनीतिज्ञ हाम्रा आदरणीय काका नीलकण्ठ शर्मा र सोभियतबहादुर अधिकारी दाइले तिम्रो उपचार प्रक्रियाबारे सल्लाह गर्नुभयो । यसपटक भने डा. सुरेश थापा पनि पेट र कलेजोसम्बन्धी विषयमा डीएम गरी भर्खरै पोखरा आउनुभएको थियो । उहाँसँग तिम्रो र तिम्रो परिवारको लामो छलफल भएपछि डा. सुधासुले भने जस्तै गरी भारतको सरगंगाराम अथवा मेदान्त अस्पतालमा जाने सल्लाह भएको मलाई याद छ ।

त्यसपछि म पनि आफ्नै कार्यव्यस्ततामा लागेँ । विश्वव्यापी कोरोनाको महामारी लकडाउनपछि नेपाल सरकारको निर्देशन अनुरुप मेरो बिरामी जाँच्ने प्रक्रिया पनि रहेन । नत्र यो बीचमा भेट हुन्थ्यो नै होला । तिमी बिरामी भै गण्डकी मेडिकल कलेजमा भर्ना भएको कुरा एकदिन बिहानै डा. कृष्ण थापाबाट थाहा पाएँ । पहिलाको जस्तै औषधी उपचार विधि अपनाई अहिलेलाई स्थिति सामान्य बनाई काठमाडांै रिफर गर्ने सल्लाह दिएँ । तर विधिको विधान तिम्रो मेरो फेरि भेट हुन लेखेको रहेनछ । एसपटक तिम्रो अवस्था एकदमै गम्भीर र नाजुक भएसँगै स्वास्थ्य विज्ञानका उपलव्ध सबै उपाय अपनाउँदा पनि तिम्रो रक्तश्राव रोकिएन । पछि साँझ थाहा पाएँ, तिमी हामी सबैलाई बिदा लिई यस लोकबाट अर्कै लोकको यात्रामा गएछौ ।

यो सुनेर एकदम दुखित भएँ । झलझली २०४२ सालको घटनाको याद आयो । त्यतिबेलाको विषम परिस्थिति साधनस्रोत अभाव । मेरो भर्खरको चिकित्सकीय अनुभवभन्दा पनि तिमीप्रतिको हाम्रो माया । तिम्रो छियाछिया परेको हातलाई अपाङ्ग हुनबाट बचायौँ । त्यसले गर्दा तिम्रो बाँकी जीवन सक्रिय र उर्जाशील रहयो । तर ३५ वर्षपछिको विकसित चिकित्सकीय प्रणाली प्रशस्त साधनस्रोत बाबजुद पनि तिमीलाई बचाउन सकिएन । यो हाम्रो आधुनिक चिकित्सा प्रणालीको बाध्यता हो कि विधिको विधान हो वा मानव जीवनको नियति । म भन्न सक्दिनँ ।

केही दिन अगाडि भेटी लिएर फेवा सिटी अस्पतालका साथीहरु सर्वजित अधिकारी, दिनेश खडका र म तिम्रो घरमा जाँदा बहिनी र शोकाकुल परिवारलाई भेटे । समवेदना व्यतm ग–यौ । तिम्रो उज्यालो र चम्किलो अनुहार हेर्दा तिमी परलोक यात्रामा नभई घर वरीपरी नर्सरीका फुलहरुमा पानी हाल्दै मुस्कुराउँदै गरे जस्तो लाग्यो । तिमी यतै घर वरीपरी नै भए जस्तो लाग्यो ।

भाई ! तिमी प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । आत्माको चिरशान्तिको कामना गर्दछु ।
अलविदा ।

तिम्रो

डाक्टर दाई
डा. वुद्धि वहादुर थापा

Trulli
Show More

Related Articles

प्रतिक्रिया लेख्नुहोस्

Back to top button