पोखरा, नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक गत असोज २८ गतेबाट निरन्तर चलिरहेको भएपनि कांग्रेसको नियमित वा बिशेष महाधिबेशन कहिले गर्ने भन्ने टुंगो अझै लाग्नसकेको छैन। केन्द्रीय समितको बैठकमा बोल्ने पदाधिकारी र सदस्यहरु नै नियमित वा बिशेष महाधिबेशन कहिले गर्ने भन्ने भन्नेमा विभाजित बनेपछि विवाद लम्बिंदै गएको छ। केन्द्रीय समितिको बैठकमा सदस्य एबम पदाधिकारीहरुले बोल्ने क्रम सकिएपनि कार्यबाहक सभापति पूर्ण बहादुर खड्काले बोल्न भने बाँकी नै छ ।
कार्यबाहक सभापति खड्काले मात्र बोल्ने क्रम बाँकी रहेकोमा शुक्रबार केन्द्रीय समितिको बैठक स्थगित गरेर केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ। महाधिवेशनसम्बन्धी विवाद मिलाउन भन्दै कार्यवाहक सभापति खड्काले एक महिनादेखि जारी केन्द्रीय कार्यसमिति बैठक रोकेर कार्यसम्पादन समिति बैठक बोलाएका हुन् । केन्द्रीय कार्यसम्पादन समिति बैठक आज दिउँसो १ बजे ललितपुरमा बस्ने र बैठकको एजेण्डा ‘महाधिवेशनका सन्दर्भमा रहेको विवाद समाधानका उपाय खोज्ने’ रहेको बुझिएको छ ।
पार्टीको १५ औँ महाधिवेशन कहिले गर्ने भन्ने टुङ्ग्याउन गत असोज २८ गतेबाट केन्द्रीय समितिको बैठक सुरु भएको थियो । केन्द्रीय समितिको कात्तिक १९ गतेको बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका पेस गरेका थिए । त्यसै दिन उनको कार्यतलिकालाई काउन्टर दिँदै सहमहामन्त्री महेन्द्र यादवले बैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्नुपर्ने कार्यतालिका पेस गरेका थिए ।
महामन्त्री थापाको कार्यतालिकालाई पार्टीभित्रको इतर समूहका नेताहरूले र यादवको कार्यतलिकालाई संस्थापन पक्षका अधिकांश नेताहरूले केन्द्रीय कार्यसमितिको बैठकमा समर्थन जनाएपछि विवाद मिल्न नसकेको हो । संस्थापन पक्षका कतिपय नेताहरु भने चुनाब अगाडी नै महाधिबेशन गर्नुपर्ने पक्षमा रहेका छन। महामन्त्री थापाले नियमित महाधिबेशन नगर्ने हो भने मङ्सिरको २७ गते बिशेष महाधिबेशन गर्नुपर्ने प्रस्ताब समेत अगाडी सारेका छन। यस अगाडी विशेष महाधिवेशन माग गर्दै २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले कार्यवाहक सभापति खड्कालाई असोज २९ गते हस्ताक्षर बुझाएका छन् ।



















