बाल्टिमोर(अमेरिका), ‘रक्तदान नै जिबनदान हो’ भन्ने नाराका साथ अमेरिकामा स्थापना गरिएको गैर नाफामुलक संस्था ‘ब्लड डोनर्स अफ अमेरिका’ को मेरिल्याण्ड स्टेट कमिटिलाई पुनर्गठन गरिएको छ। बाल्टिमोरको बम्बेनाइट रेस्टुरेन्टमा ब्लड डोनर्स अफ अमेरिकाको केन्द्र र मेरिल्यान्ड स्टेट कमिटिको संयुक्त बैठकले मेरिल्यान्ड स्टेट कमिटिलाई पुनर्गठन गर्ने घोषणा गर्दै समितिका पदाधिकारी एबम सदस्यहरु चयन गरेको हो।
पुनर्गठित समितिको अध्यक्षमा सुशिल पगेनी रहेका छन। कास्की जिल्लाबाट आएर लामो समयदेखि अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बस्दै आएका पगेनी रक्तदान र सामुदायिक स्वास्थ्य कार्यक्रमहरूमा सक्रिय छन। ब्लड डोनर्स अफ अमेरिकासँग सुरुवातदेखि नै जोडिएका पगेनीले मेरिल्यान्डमा धेरैपटक रक्तदान कार्यक्रम आयोजना र समन्वय गर्नुको साथै स्वास्थ्य सचेतना कार्यक्रमहरु र इभेन्ट्सहरु पनि संचालन गर्दै आएका छन।
समितिको वरिष्ठ उपाध्यक्षमा तारा खराल नेऊपाने, उपाध्यक्षहरूमा केमिका भण्डारी र समिप आचार्य, महासचिवमा अमृता नेपाल,सचिवमा गणेश भट्टराई र कोषाध्यक्षमा यमुना गौतमलाई चयन गरिएको छ भने समितिका सदस्य अर्थात बोर्ड अफ डाइरेक्टरहरूमा निशा पन्थी, तुलसीराम तिवारी, बिकासजंग थापा, डा.एकता कोईरालालाई चयन गरिएको अध्यक्ष पगेनीले गुरुकुल खबरलाई जानकारी दिए ।

‘ब्लड डोनर्स अफ अमेरिका’ सन् २००९ मा अमेरिकाको करमुक्त कानुन अनुसार दर्ता गरिएको संस्था हो। हाल उक्त संस्थामा करिब ७ सय आजीवन सदस्य र अमेरिकाको बिभिन्न राज्यमा २४ वटा स्टेट कमिटिहरू सक्रिय छन्। संस्थाले रक्तदान र जनचेतना सम्बन्धी कार्यक्रममा केन्द्रित रहेर आफ्ना गतिबिधि संचालन गर्दै आएको छ।
बाल्टिमोरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि डा. एच.बी. भण्डारी, एनआरएनका उपाध्यक्ष राजेन्द्र रेग्मी, पत्रकार तथा समाजसेवी मधुकर अधिकारी, अन्तर्राष्ट्रिय साहित्य समाजका बोर्ड अफ ट्रष्टी सभापति तथा ब्लड डोनर्स अफ अमेरिकाका केन्द्रीय सल्लाहकार पदम बिक, उपाध्यक्ष तिर्थराज पाण्डे, कोषाध्यक्ष नेत्रबन्धु पोखरेल, पूर्व अध्यक्ष गोवर्धन पूजा, सहदेव कोईराला, प्रतिक रावल लगायत उपस्थित थिए।
यसका साथै केन्द्रीय समितिबाट अध्यक्ष महेश्वर पन्त, उपाध्यक्षहरू बिरोचन नेपाल र विजयदेव अधिकारी, सचिव तारा खराल नेऊपाने र केमिका भण्डारी लगायत समाजसेवी, गैरनाफामूलक संस्थाका प्रतिनिधि र अमेरिकन सरकारका अधिकारीहरूको समेत सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता मेरिल्याण्ड स्टेट कमिटिका अध्यक्ष पगेनीले गरेका थिए ।




















