पोखरा, नेपाल तरुण दल लम्जुंगको अधिबेशनको दौरानमा भएको बिबादमा खुकुरी प्रहार गर्ने चारजना बिरुद्ध ज्यान मार्ने अभियोगमा जाहेरी दर्ता भएको छ। जाहेरी दर्ता गर्न घटना भए लगत्तै पहल गरेको भएपनि प्रहरीले जाहेरी दर्ता नगरेकोमा अहिले भने जाहेरी दर्ता भएको छ।
लम्जुंग कांग्रेस भित्र जिल्ला सभापति एबम गण्डकी प्रदेशका अर्थ मन्त्री डा. टकराज गुरुङ र निबर्तमान सभापति एबम गण्डकी प्रदेशका बन मन्त्री भेषबहादुर पौडेलबिचको टकरावको कारण गुटको राजनीति तल्लोस्तरसम्म झांगिंदै गएकोमा तरुण दलको अधिबेशनको क्रममा खुकुरी प्रहार सम्मको अबस्थामा आइपुगेको हो।
अधिवेशनमा प्रतिनिधि छनोटबाटै एउटा पक्षलाई रोक्ने प्रयास गरिएको भन्दै संस्थापन इतर पक्ष अर्थात पौडेल पक्षले कार्यक्रमस्थलमा नाराबाजी गरेका थिए । नाराबाजी चलेपछि संस्थापन पक्ष अर्थात गुरुङ पक्षका युवाले खुकुरी प्रहार गरेर केहीलाई घाइते बनाएको प्रत्यक्षदर्शीले बताएका छन् । तरुण दलको जिल्ला अन्तर्गत तल्लो तहमा निर्वाचन हुँदादेखि नै विवाद चुलिँदै आएको र क्होंलासोंथरको अधिवेशनमा माइन्युट च्यात्नेदेखि महोत्सवमा एक पक्षले अर्को पक्षलाई कुट्नेसम्मका गतिविधि हुँदै आएको भएपनि दुई मन्त्रीले समेत चासो नदिंदा घटनाले उग्र रुप लिन पुगेको हो ।
लम्जुंगका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरिक्षक रेशम बोहराले घटनामा संलग्नहरू उपर जाहेरी परेको र दर्ता भैसकेको बताए । आक्रमणमा संलग्न रहेको अभियोगमा जाहेरी दर्ता भएको तर हालसम्म कोहीपनि पक्राउ नपरेको उनले गुरुकुल खबरलाई जानकारी दिए उनले भने, ‘खोजी भइरहेको छ । जाहेरी परेपछि मुद्दाको रूपमा प्रक्रियासम्मत ढंगले अनुसन्धान र कारबाही अघि बढ्छ।’
खुकुरी आक्रमणबाट घाइते भएकाहरुको तर्फबाट परेको जाहेरीका आधारमा मध्यनेपाल नगरपालिकाका किरण गुरुड, सोही ठाउँका धनबहादुर तामाङ, राइनास नगरपालिकाका गणेश गुरुङ र मस्र्याङ्दी गाउँपालिकाका भूपेश गुरुङलाई ज्यान मार्ने उद्योग अन्तर्गत जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ ।
उक्त घटनामा खुकुरी प्रहारबाट ४ जना घाइते भएका थिए । घाइते हुनेहरुमा खुसीजंग गुरुङ, सुदीप अधिकारी, सन्तोष बस्नेत र शंकर सापकोटा रहेका हुन् । जसमध्ये खुसीजंग र सुदीपलाई चितवनलगेर उपचार गरिएको थियो भने अन्य दुई जनाको स्थानीय अस्पतालमा उपचार गरिएको थियो ।