पोखरा, पोखरा महानगरपालिका वडा नं १२ स्थित पोखरा युनाइटेड एकेडेमीले पहिलो पटक ‘फुड फेस्टिभल एण्ड कन्सर्ट–२०८१’ आयोजना गर्ने भएको छ । कक्षा ११ र १२ मा होटल व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रम माघ १५ गते हु्ने र सो अवसरमा विभिन्न १५ प्रकारका खानाका परिकार प्रस्तुत गरिने बिहीबार आयोजित पत्रकार सम्मेलनमा विद्यालयका प्राचार्य बयानबहादुर गोदारले जानकारी दिए । कार्यक्रम दिउँसो २ बजेदेखि सुरु भएर साँझसम्म चल्नेछ ।
फेस्टिभलमा पोखराका नाम चलेका चार तारे होटलमा तालिम प्राप्त विद्यार्थीले खानाका परिकार तयार गरेर प्रस्तुत गर्नेछन् । प्राचार्य गोदारले विद्यार्थीलाई अध्ययनसँगै स्वरोजगार बनाउने लक्ष्य विद्यालयको रहेको बताए ।
विद्यालयका सहायक प्राचार्य देवेन्द्र अधिकारीका अनुसार कार्यक्रममा सहभागी हुने कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई एक सय, कक्षा ४ र ५ का विद्यार्थीलाई दुई सय, कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई तीन सय, शिक्षकशिक्षिका तथा अभिभावका लागि पाँच सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।
टिकट काटेपछि सोही रकम बराबरको खानाका परिकार रोजेर खान पाइनेछ । खानाका परिकार अग्र्यानिक हुनेछन् । स्वादभन्दा पनि स्वास्थ्यलाई ध्यानमा राखिने अधिकारीले बताए । उनका अनुसार विद्यालय आसपासका सबै छिमेकीलाई निमन्त्रण पत्र पठाएर कार्यक्रममा सहभागी गराएर विद्यालयका गतिविधिबारे जानकारी गराइनेछ ।
कार्यक्रममा कमेडी च्याम्पियन सिजन–३ का उत्कृष्ट १२ कमेडियनले कमेडी प्रस्तुत गर्नेछन् । जसमा कमेडी च्याम्पियन विजेता सुनिल खड्का, उत्कृष्ट प्रतिस्पर्धी कर्मसिंह लामा, प्रतीक अधिकारीलगायत हुनेछन् ।
यसैगरी लोकल व्याण्डको लाइभ म्युजिकमा समेत सहभागी रमाउन पाउनेछन् । लोकल व्याण्ड विद्यालयकै समूह हुने भने जोजीजू म्यूजिक व्याण्डले त्यसमा साथ दिने विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवबहादुर भण्डारीले जानकारी दिए । यसले विद्यार्थीकै प्रतिभा प्रस्फुटनमा मद्दत पुर्याउने उनले विश्वास व्यक्त गरे ।
अध्यक्ष भण्डारीले सिक्ने र सिकाउने थलोका रुपमा विद्यालय भएकाले आफूहरुले सोही प्रकारको वातावरण सिर्जना गरेका स्पष्ट पारे । विद्यालयले आगामी दिनमा मोवाइल, टीभी र अन्तर्राष्ट्रिय भाषासँग सम्बन्धित कक्षा सञ्चालनको तयारी गरेको उनले बताए ।
२०५० सालमा स्थापित विद्यालयमा हाल आठ सय ५० विद्यार्थी रहेकामा कक्षा ११ र १२ मा मात्रै दुई सय २० विद्यार्थी छन् । विद्यालयका कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापनको पढाई हुँदै आइरहेको छ ।