Play

लामिछाने बयानको लागि बुटवल जाँदै, उच्च अदालत पोखराले दियो ‘कैफियत प्रतिबेदन’ झिकाउने आदेश

गुरुकुल खबर


पोखरा, पोखरा र काठमाडौँमा सहकारीको रकम अपचलन गरेको अभियोगमा सम्बन्धित जिल्लाको अदालतमा भएको थुनछेक बहस पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बुधबार रुपन्देही जिल्ला अदालतमा जानेभएका छन । बुटवलको सुप्रिम सहकारीको रकम अपचलनको मुद्दा दायर भएपछि बयानका लागि उनी मंगलबार रुपन्देहीको बुटवल जान लागेका हुन्

लामिछाने मंगलबार भैरहवा पुग्ने र बुधबार अदालतमा उपस्थित भई थुनछेक बहसमा सहभागी हुने भएका हुन बुटवलमा सहकारी ठगीको विषयमा प्रहरीले  पूरक अनुसन्धान गरेर मुद्दा चलाउने राय दिएपछि रुपन्देही जिल्ला अदालतमा पनि  लामिछाने विरुद्ध मुद्दा दर्ता भएको हो

यसैबीच रास्वपाका सभापति लामिछानेसहित ७ जनालाई सूर्यदर्शन सहकारी ठगी प्रकरणमा धरौटीमा छाड्ने कास्की जिल्ला अदालतको आदेशका सम्बन्धमा उच्च अदालत पोखराले मंगलबार ‘कैफियत प्रतिवेदन’ झिकाउन आदेश गरेको छ।  न्यायाधीश राजकुमार खतिवडाको इजलासले कास्की जिल्ला अदालतको नाममा उक्त आदेश जारी गरेको हो ।

कास्की जिल्ला अदालतको आदेशविरुद्ध उच्च सरकारी वकिल कार्यालय पोखराले सोमबार उच्च अदालतमा ७ जनालाई थुनामै राखेर मुद्दा चलाउन माग गर्दै निवेदन दर्ता गराएको थियो । उक्त निवेदनको सुनुवाइ गर्दै उच्च अदालतले लामिछानेसहितलाई धरौटीमा छाड्नुको आधार र कारण खोज्दै कास्की अदालतबाट कैफियत प्रतिवेदन मगाउने आदेश गरेको उप–रजिस्ट्रार एवं सूचना अधिकारी निल पनेरुले जानकारी दिए ।

उनका अनुसार अदालतले तीन दिनभित्र आदेशको प्रति कास्की अदालतमा बुझाएपछि सामान्यतयाः सात दिनभित्र कास्की अदालतले प्रतिवेदन बुझाउनुपर्छ । उक्त प्रतिवेदन संयुक्त इजलासमा प्रस्तुत हुन्छ । धरौटीमा छाडिएका प्रतिवादीलाई उनको मुद्दा उच्च अदालतमा विचाराधीन रहेको जानकारी गराइन्छ।

प्रतिवादीले उच्च अदालतमा धरौटीमा छोड्ने आदेशलाई सदर गरिपाउँ भनेर प्रतिरक्षा गर्न पाउँछन् । पूर्ण सुनुवाइ हुने क्रममा इजलासले सक्कल मिसिल झिकाउने आदेश दिन समेत सक्छ ।

८ माघ २०८१, मंगलवार १६:२५ मा प्रकाशित
Nabintech